गृहपृष्ठ ‘एकताबद्ध प्रयासबाट विकृतिको अन्त्य गर्न सकिने’

‘एकताबद्ध प्रयासबाट विकृतिको अन्त्य गर्न सकिने’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले सबैको एकताबद्ध प्रयासबाट नै समाजमा रहेका विकृति तथा विसंगतिको अन्त्य गर्न सकिने बताएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न संघसंस्थाद्वारा आज धनगढीमा आयोजित ‘यौन हिंसा तथा बलात्कार प्रभावित महिलाको सामाजिक सुरक्षा तथा न्यायमा पहुँच’ विषयक एकदिने प्रदेशस्तरीय कार्यशालामा उनले समाजमा रहेका व्याप्त समस्यालाई उन्मूलन पार्न सबै मिलेर समस्याको सामना गर्नुपर्ने बताए ।

मन्त्री शाहले कुनै दाता, दानीहरू आएर हाम्रो समाज परिवर्तन नगरिदिने उल्लेख गर्दै आफ्नो समाज स्वयं आफैँले परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । पुराना सोच, शैली, मान्यता, आनीबानीले समाजमा समस्या निर्माण गरिरहेकाले त्यस्ता रूढिवादी परम्परा त्याग्नु आवश्यक रहेको मन्त्री शाहले उल्लेख गरे ।

उनले पीडितलाई सम्मानका साथ बाँच्न पाउने, पारिवारिक, सामाजिक, सांस्कृतिक जीवनमा पुनःस्थापना गर्ने कुराको अहिले चुनौती रहेकाले त्यस्ता काममा स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारलगायत विभिन्न संघसंस्था मिलेर अगाडि बढ्नुपर्ने बताए । (रासस)

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु