गृहपृष्ठ डिजिटल प्रविधियुक्त बन्यो सुदूरपश्चिम प्रदेशसभा

डिजिटल प्रविधियुक्त बन्यो सुदूरपश्चिम प्रदेशसभा

जानकारी दिँदै सभामुख थापा ।

सुदूरपश्चिम प्रदेश सभामा नयाँ डिजिटल प्रविधि जडान गरिएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा भवनमा राखिएको म्यानुअल प्रविधि हटाएर डिजिटल प्रविधि जडान गरेको हो ।

आइतबार आयोजित ‘सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम’मा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा डिजिटल प्रविधि जडान भएको बताए । उनले माइक, अडियो/भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्ले बोर्ड, कम्प्युटर, मिक्चर लगायतका डिजिटल प्रविधि जडान गरिएको जानकारी दिए ।

सभामुख थापाका अनुसार २७ वटा माइक, दुईवटा भिडियो क्यामेरा, दुईवटा डिस्प्ले बोर्ड, एउटा मिक्सचर, एउटा कम्प्युटर लगायतका डिजिटल प्रविधि जडान भएको हो । प्रदेश सभाको गतिविधि युट्युबमा समेत प्रसारण गर्ने व्यवस्था गरिएको सभामुख थापाले बताए ।

प्रदेशसभा भित्रका काम कारबाहीको दृश्यहरु प्रसारण गर्दा पत्रकारहरुले अगाडि-पछाडि दुवैतिरको भिडियो क्याप्चर गर्न सक्नेगरी दुईवटा क्यामेरा जडान भएको उनले बताए । ‘युट्युब प्रसारणले गर्दा संसदमा नआएरै पनि संसद्भित्रको गतिविधिको रिपोर्टिङ गर्न सहज भएको छ । युट्युब प्रसारणले प्रदेश सभाको खुलापन र पारदर्शितामा टेवा पुग्ने सचिवालयको विश्वास छ,’ उनले भने ।

प्रदेश सभामा सभामुखको आसनपछाडिको भित्तामा ठूलो डिजिटल बोर्ड राखिएको छ । संसद्को गतिविधि पछाडिबाट मात्रै कभर गर्न पाएको पत्रकारहरुको सम्बोधन गर्न सञ्चार कक्ष पनि छुट्टै बनाएको छ । सो सञ्चार कक्षमा समेत स्मार्ट टीभी राखिएको छ ।

प्रदेश सभा भवनबाट हटाइएका म्यानुअल माइकहरु संसदीय समितिहरुको बैठक कक्षमा राखिने सभामुख थापाले बताए । उनले दुईवटा हल बनाएर संसदीय समितिका लागि ‘मिनी पार्लियामेन्ट’ चलाउने व्यवस्था गरिएको जानकारी दिए । ‘संसदीय समितिहरुको हरेक गतिविधि रेकर्ड गरेर दस्तावेज राख्न सचिवालयले व्यवस्था गरेको छ,’ पत्रकार भेटघाट कार्यक्रममा सभामुख थापाले भने, ‘प्रदेश सभाले भिडियो कन्फरेन्स प्रणालीसमेत जडान गरिरहेको छ । सचिवालयमा आवश्यक प्रणालीसहित एउटा भिडियो कन्फरेन्स कक्ष बनाइन्छ, जहाँ प्रत्येक जिल्ला समन्वय समितिलाई भिडियो कन्फरेन्स प्रणालीमार्फत जोडिनेछ ।’ उनका अनुसार यस प्रणालीमार्फत प्रदेश सभा तथा समितिका सदस्यहरुले स्थानीय जनतासँग आफ्नै कार्य कक्षबाट संवाद गर्न सक्नेछन् ।

प्रदेशसभा सचिवालयले आगामी दिनमा विषयगत समितिका बैठकहरुलाई ‘मिनी संसद’को रुपमा सञ्चालन गर्ने दुईवटा बैठक कक्ष, इ-लाईब्रेरी, प्रदेश सभा सचिवालय तथा विषयगत समितिमा सीसीटीभी जडानको लक्ष्य लिएको छ । त्यस्तै प्रदेश सभाको थप सुरक्षाका लागि काँडेतार र वाक-थ्रु गेट निर्माण गरिने र नियमित विद्युत आपूर्तिका लागि जेनेटर खरिदको प्रक्रिया अगाडि बढाएको सभामुख थापाले जानकारी दिए ।

उनले आवश्यक कर्मचारी दरबन्दी र प्रदेश सभाले निर्माण गर्ने कानुनलाई जनताको बीचमा छलफल गराउने, सरोकारवाला व्यक्ति, संघ संस्थालाई आमन्त्रण गर्ने, सम्बन्धित क्षेत्रका विज्ञ आमन्त्रण गर्ने तथा सुझावहरुलाई कार्यान्वयन गर्दै जाने बताए ।

प्रदेश सभाले ३२ वटा विधेयक पारित गरेको छ भने त्यसको प्रमाणीकरणसमेत भइसकेको छ । यसका साथै प्रदेशको स्थायी राजधानी र नामसमेत तोकिसकेको छ ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु