गृहपृष्ठ हुलाकी राजमार्ग : भारतीय भन्दा स्वदेशी लगानीको निर्माण तीव्र

हुलाकी राजमार्ग : भारतीय भन्दा स्वदेशी लगानीको निर्माण तीव्र

नेपालगन्ज-स्वदेशी लगानीमा निर्माण थालिएपछि हुलाकी राजमार्गको बाँके–बर्दिया खण्डमा कामले गति लिएको छ । अहिलेकै गतिमा काम भए लक्ष्यभित्रै सडक निर्माण पूरा हुने अधिकारीहरूले जनाएका छन् ।

राजमार्गअन्तर्गत भारतीय सहयोगमा निर्माण भइरहेको दाङ–लमही–कोइलाबास ३३ किमि खण्डमा भन्दा स्वदेशी लगानीको निर्माण प्रगति राम्रो भएको योजना प्रमुख सौरभ बज्राचार्यले बताए। ‘गत वर्ष भदौदेखि काम अघि बढेको हो,’ उनले कान्तिपुरसित भने, ‘केही रेखांकन, मुआब्जा टुंगोमा पुग्नुपर्नेबाहेक अरू सन्तोषजनक रूपमा काम भएको छ।’

भारतीय सहयोगमा काम भइरहेको दाङ खण्डभन्दा स्वदेशी लगानीका बाँके र बर्दियाका पाँचवटा खण्डको काम छिटो भइरहेको छ। ती खण्डमा औसतमा २० प्रतिशत काम भइसकेको छ। लगभग सँगै निर्माण थालिएको दाङ खण्डमा भने ५ प्रतिशत मात्र काम भएको छ। उक्त खण्डको काम भारतीय कन्सल्ट्यान्टको निगरानीमा कालिका कन्स्ट्रक्सनले गरिरहेको छ।

बाँके नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व बघौडासम्मको ४४ किमि सडक ३० महिनाभित्र निर्माण पूरा गर्ने गरी २०७३ फागुनदेखि पप्पु–लुम्बिनी जेभीले ठेक्का लिएको हो। २२–२२ किमिका दुई खण्ड बनाएर काम भइरहेको छ। सुरुको ११ किमि खण्डमा रेखांकन र मुआब्जा टुंगो नलागेर काम अघि बढेको छैन। रेखांकनको नयाँ नक्सा नापी विभागले हस्तान्तरण नगरेकाले काम रोकिएको आयोयोजनाको दाबी छ। त्यसबाहेक काम सुरु भएको एक वर्षमा राप्तीवारिको खण्डमा तीव्र गतिमा माटो पटान र स्ल्याब निर्माण भइरहेको छ। राप्तीवारीको खण्डमा १४ प्रतिशत र पारि २४ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।

हुलाकी राजमार्गकै राप्तीपुलपारि ५० मिटर पुल भैरव कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ। ०७०/०७१ देखि निर्माणाधीन उक्त पुल आगामी असार मसान्तभित्र पूरा गर्ने लक्ष्य छ। यसको ५५ प्रतिशत निर्माण पूरा भइसकेको छ। सँगैको झन्डै एक किलोमिटर सडक बर्सेनि राप्तीको बाढीले काटदै आएको छ। ‘सडक बर्षेनी बाढीले बगाउने गरेकाले अग्लो तटबन्धसहित निर्माण गर्ने कि कसरी गर्ने भन्नेबारे छिट्टै टुंगोमा पुग्छौं,’ बज्राचार्यले भने।

राप्तीपारि मटेहिया–नरैनापुर खण्डको सडक करिब पूरा भइसकेको छ। त्यस्तै, १३ देखि १६ किमि खण्डमा माटो पटान भइरहेको छ। नरैनापुरमा सडकमा परेका पुराना घर धमाधम भत्काउन लागिएको छ। हुलाकी आयोजनाले सडकमा पर्ने साना नाला र खाल्डामा १५ वटा बक्स, ३० पाइप–कल्भर्ट र ७ स्थानमा स्ल्याब निर्माण गर्न लागेको छ। उक्त खण्डमा सडक डिभिजन कार्यालयले दुईवटा पुल निर्माण गरिरहेको छ।

हुलाकी राजमार्गअन्तर्गत बर्दिया खण्डमा ३६ किमि सडक निर्माण भइरहेको छ। भूरीगाउँदेखि बेलवासम्मको १८ किमि सडक शर्मा राजेन्द्र कन्स्ट्रक्सनले ठेक्का लिएको छ। २९ करोड लागत रहेको उक्त खण्डमा २४ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ। उक्त खण्डमा १८ वटा पाइप कल्भर्ट र ८ वटा स्ल्याब निर्माण हुनेछन्। ‘यो खण्डमा कुनै समस्या छैन। त्यसैले लक्ष्यभन्दा पहिल्यै निर्माण पूरा हुने अपेक्षा गरेका छौं,’ योजना प्रमुख बज्राचार्यले भने, ‘बजार क्षेत्र भएकाले मुर्तियातर्फका काममा चुनौती छन्।’

बेलवादेखि मुर्तियासम्मको १८ किमि खण्ड पप्पु कन्स्ट्रक्सनले २६ करोडमा ठेक्का लिएको छ। २१ पाइप र ६ स्ल्याब निर्माण गर्नुपर्ने उक्त खण्डमा अहिलेसम्म १९ प्रतिशत काम भएको छ। बेलवा चोकदेखि राजापुरसम्मको २१ किमि खण्ड पनि समयमै सकिने आयोजना प्रमुख बज्राचार्यले बताए। आशिष–कुमार श्रेष्ठ जेभीले २६ करोडमा ठेक्का लिएको उक्त खण्डको पनि १९ प्रतिशत कार्य पूरा भएको छ। उक्त खण्डमा १९ पाइप–कल्भर्ट हाल्नुपर्नेछ। ‘साइटमा देखिने काम सन्तोषजनक छ। त्योभन्दा तयारी राम्रो भएको छ,’ बज्राचार्यले भने, ‘निर्माण सामग्री संकलन भइसकेकाले ग्राभेलसम्म अब तीव्र गतिमा काम हुन्छ।’ हुलाकी राजमार्गका लागि आवश्यक निर्माण सामग्री रोडा गिटीका लागि निर्माण कम्पनीहरूले क्रसर प्लान्ट राखिसकेका छन्।

नेपाल र भारतबीच ०६६ सालमा हुलाकी मार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भए पनि भारतीय निर्माण कम्पनीले ठेक्का लिएर काम बीचमै छाडेका थिए। अधिकांश भारतीय कम्पनी काम छाडेर भागे पनि ०७३ भदौमा अति महत्त्वपूर्ण ६ वटा सडक खण्ड नेपाल सरकार आफैंले निर्माण गर्ने गरी नयॉ सहमति भएको थियो। अरू १० खण्ड भने भारतीय सहयोगमा निर्माण भइरहेका छन्। हुलाकी राजमार्ग निर्देशनालयअन्र्तगत पूर्व–पश्चिम राजमार्गबाट भारतीय सीमा जोड्ने ३२ वटा सडक र पुरानो हुलाकी मार्ग १८ सय किमि गरी झन्डै २ हजार ७ सय किमि सडक पर्छ।
-साभार कान्तिपुर

प्रकाशित समय ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु