गृहपृष्ठ ह्याप्पी बर्थ डे केकी !

ह्याप्पी बर्थ डे केकी !

‘स्वर’ फिल्मबाट नायिकाका रूपमा डेब्यु गरेकी केकी अधिकारी अहिलेकी चल्तीकी नायिकामध्येमा पर्छिन् । रंगकर्मी बुबा बद्री अधिकारीका कारण पनि एक्टिङको पारिवारिक वातावरणमा हुर्के/बढेकी केकीलाई नायिकामध्ये अभिनय कौशल अब्बल रहेको मानिन्छ । यस वर्ष नै उनले ‘लभ सासा’ बाट उत्कृष्ट नायिकाको लागि फिल्म समीक्षक समाजले प्रदान गर्ने क्रिटिक्स अवार्ड जितेकी छन् । बब्ली फेसकी केकीले आइतबार आफ्नो जन्मदिन मनाएकी छन् । रिलिजको क्रममा रहेको आफ्नै फिल्म ‘राज्जा रानी’ को टिमसँग उनले बर्थ डे सेलिब्रेसन गरेकी छन् ।

‘मलाई जन्मदिनको सबैभन्दा मन पर्ने कुरा भनेकै फेरि बच्चा जस्तो हुन पाइन्छ । आज पनि एकदमै रमाइलो लागिरहेको छ,’ शिरमा क्राउन लगाएर स्पेसल बनेकी केकीले सञ्चारकर्मी र फिल्म युनिटसँग रमाइलो साटासाट गर्दै भनिन् ।

केकीलाई ‘राज्जा रानी’ कै को–एक्टर नाजिर हुसेनले बर्थ डे केक चखाएका थिए । सोही कार्यक्रममा फिल्म युनिटले ‘राज्जा रानी’ को मैथिली भाषाको ट्रेलर तथा गीत पनि रिलिज गरेको थियो । बालविवाह र दाइजो प्रथा विरुद्धको कथा बोकेको फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । निर्देशक थापाकै पटकथा रहेको फिल्मलाई भोर नेपालले पूर्वी तराई क्षेत्रमा मैथिली भाषामा प्रदर्शन गर्न लागेको हो । भोरका संयोजक राजकुमार महतोले फिल्मको कथा र आफ्नो संस्थाको उद्देश्य मिल्न गएकाले पनि सामाजिक जागरणका लागि ‘राज्जा रानी’ प्रदर्शन गर्न लागिएको बताए । पुस २१ देखि प्रदर्शनमा आउन लागेको फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

फिल्ममा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया, दीपक क्षत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको पनि अभिनय रहेको छ । मैथिली भर्सनको गीतलाई दीपक शर्माले कम्पोज गरेका छन् भने राजेन्द्र थापाका शब्दलाई नरहरि प्रेमी र अन्जु यादवले गाएका छन् ।

प्रकाशित समय ०६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु