गृहपृष्ठ साढे ७ लार्इ ‘पञ्चेबाजा’ले उछिन्याे
साढे ७ लार्इ ‘पञ्चेबाजा’ले उछिन्याे
काठमाडौं, १३ फागुन । फ्राइडे रिलिज अन्तर्गत गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई चलचित्र पञ्चेबाजा र साढे ७ ले खासै दर्शकको साथ पाएका छैनन् । दुई चलचित्रमध्ये पञ्चेबाजाले भने औसत व्यापार गरेको छ । तर, फरक प्रयोगको साढे ७ लाई भने दर्शकले खासै रुचाएको पाइएन ।
‘साढे सात’मा फोटो पत्रकारको कथा भनियो । फोटो पत्रकार जो नाकाबन्दी ताकाको मधेस आन्दोलन खिच्न मधेस जान्छ र समस्यामा पर्छ ।
फोटो पत्रकारको रुपमा देखिएका छन् गायकसमेत रहेका संयोग (सत्यराज आचार्य) । जो गर्भवती श्रीमती सुप्रिया कटवाललाई छोडेर कार्यालयको काममा हिँडेका हुन्छन् । मधेसमा सहयोगीको रुपमा (कामेश्वर चौरासिया) र सरला (मेनुका प्रधान)लाई भेट्छन् र त्यसपछि सिर्जना हुने घटनाले फिल्मलाई अन्त्यसम्म पु¥याउँछ ।
फिल्मको कथा, पटकथा, पात्र र प्रस्तुति केहीको पनि तालमेल नमिलेका कारण चलचित्र दर्शकलाई रुचीपूर्ण र चाखलाग्दो बनेको छैन । श्रीमतीसँग बिताइरहेको अन्तरंग समयमा होस् या यात्राको क्रममा झोला बोक्दा पनि क्यामेरा घाँटीमा नै भिर्नु, फोटो प्रिन्ट गरेर कार्यालयमा बुझाउनु, एउटै सिनमा फरक क्यामेराहरु देखिनु अति नाटकीय जस्तो देखिएको छ । चलचित्रमा देखिएको एउटा सिनमा ज्यान जोखिममा राखेर मधेस आन्दोलन खिच्न जान मानसिक रुपमा तयार फोटो पत्रकार एउटा घटनाले हडबडाउँछ र निकै कातर बन्छ यसले दर्शकलार्य नमिठो अनुभव हुन्छ ।
फिल्मको सिनेम्याटोग्राफी फिल्मको सबल पक्ष हो । जसको लागि धन्यवादको पात्र हुन् छायाँकार अनिश तामाङ । कलाकारको रुपमा सत्यराज आचार्यले तेस्रो फिल्ममा केही सुधार पक्कै गरेका छन् । मेनुका प्रधान, सुनिल थापा, सुप्रिया कटुवाल, कामेश्वर चौरासिया र शिशिर वाङदेलले अभिनयको पाटोमा उस्तो दोष लाउन पर्ने ठाउँ छोडेका छैनन् ।
त्यस्तै शुक्रबारबाटै प्रदर्शमा आएको अर्को चलचित्र पञ्चेबाजाले नेपालको मौलिक बाजाको विषयवस्तुलाई उठान गरेको छ । यो चलचित्रलाई भने दर्शकले केही रुचाएका छन् । चलचित्रका निर्देशक घनश्याम लामिछानेले लाईफको आरोहअबरोह नै पञ्चेबाजा रहेको प्रतिक्रिया दिए ।
उनले दुःखपीडा मिसाएर एउटा प्याकेज बनाएको बताए । ‘पञ्चेबाजामा मायाँ र द्वन्द्व मिसिएको छ, उनले भने जुनसुकै दर्शकका लागि पनि पञ्चेबाजाले मन छुन्छ ।’ फिल्मका निर्माता राजेश शाहीले कुनै कम्प्रोमाईज नगरी ठूलो लगानीमा चलचित्र बनाएको कारण दर्शलेपनि रुचाएको भन्दै आफूलाई सन्तुष्टि मिलेको बताए । दर्शकले नायिका जस्मिन श्रेष्ठको भूमिका लाई पनि रुचाएका छन् ।
चलचित्र वितरण केदार पराजुलीले उपत्यका बाहिर ८० भन्दा बढी हलमा प्रदर्शन हुने भन्दै पञ्चेबाजा अरु भन्दा फरक र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । राजेश शाहीले निर्माण गरेको चलचित्रको घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । ‘न्यू भेनु फिल्म्स’को व्यानरमा प्रदीप भारद्वाजको पटकथा, कालीप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ ।
राजकुमार उप्रेतीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्ममा सारा गुरुङको पनि लगानी रहेको छ । मुख्य भूमिकामा सौगात मल्ल र जस्मिन श्रेष्ठसँगै कर्मा, बुद्धि तामाङ, सृजना सुब्बालगायतले अभिनय गरेका छन् । फिल्म हरि घलेको छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
प्रकाशित समय ००:१५ बजे