गृहपृष्ठ आर्थिक विकासका कार्यक्रम ल्याउन महासंघको माग
आर्थिक विकासका कार्यक्रम ल्याउन महासंघको माग
काठमाडौं, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । महासंघले आर्थिक समृद्धिको सपना साकार पार्न तत्काल नयाँ कार्यक्रमको माग गरेको हो ।
महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएको प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष राणाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै मुलुकलाई अब आर्थिक समृद्धितर्फ अगाडि बढाउन प्रधानमन्त्रीबाट नेतृत्वदायी भूमिका निर्वाच गर्न आग्रह गरिन् । आर्थिक विकासको कार्यत्रममा निजी क्षेत्रले पूर्णतः सहयोग गर्ने विश्वास पनि उनले दिलाइन् ।
अध्यक्ष राणाले सरकारले उद्यमी व्यवसायीहरुले कर लगायत स्थानीय तहमा अहिले पनि निकै धरै समस्या बेहोर्नुपरेको तथा उद्योग व्यवासाय क्षेत्रले मात्र गर्नुपर्ने कार्यक्रमहरु अन्य क्षेत्रबाट समेत हुन जाँदा त्यसको असर समग्र उद्योग व्यवसायमा पर्न गएको जानकारी गराइन् ।
संघीय राज्य प्रणालीमा गएपछि करलगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको र अन्योलता बढेकाले यस्ता विषयमा अहिलेदेखि नै निजी क्षेत्रलार्इ विश्वस्त पार्न आग्रह गर्दै अध्यक्ष राणाले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेदेखि नयाँ योजनाहरु ल्याउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् ।
प्रकाशित समय ०१:५६ बजे