गृहपृष्ठ निर्माणाधीन खिम्ती–२ आयोजनामा चीनले नौ अर्ब लगानी गर्ने
निर्माणाधीन खिम्ती–२ आयोजनामा चीनले नौ अर्ब लगानी गर्ने
काठमाण्डौं । चीनले निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी नेपालमा गर्ने भएको छ। चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेड निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा लगानी करिब नौ अर्ब लगानी गर्ने भएको हो। ४८. ८ मेगावाटको खिम्ती–२ निजी क्षेत्रले निर्माण गरिरहेको मध्ये ठूलो आयोजना हो। चीनको सरकारी हाइड्रो कम्पनीले नेपालको विद्युत क्षेत्रमा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपटक यति ठूलो लगानी गर्न लागेको हो। सो सम्बन्धी सम्झौता पत्रमा आगामी १४ मार्चमा छोङछिङमा सम्झौता हुँदैछ। सम्झौताका लागि पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वमा ८ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ। आचार्यले सम्झौतापछि निजी क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुल्ने प्रतिक्रिया दिए। ‘चीनसँग पैसा छ, हामीसँग पानी छ’, आचार्यले भने, ‘हामीले सम्झौता गरेपछि नेपालको जलविद्युतमा निजी क्षेत्रका लागि चीनबाट ठूलो लगानी ल्याउने ढोका खुल्ने छ।’ आचार्यको टोलीले चीनको थ्रिगोर्जेज लगायत जलविद्युत कम्पनीको समेत अध्ययन भ्रमण गर्ने छ।
प्रकाशित समय २०:४३ बजे