गृहपृष्ठ सिटिजन इन्स्योरेन्सले ३० प्रतिशत साधारण सेयर निश्कासन गर्ने
सिटिजन इन्स्योरेन्सले ३० प्रतिशत साधारण सेयर निश्कासन गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले नियमनकारी निकायको स्वीकृति लिइ साधारण सेयर निश्कास गर्ने तयारी गरेको हो ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष प्रदिपजंग पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०६३/६४ देखि आव २०७३/७४ सम्मको वित्तीय विवरण पनि पारित गरेको छ ।
यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको संक्षिप्त व्यवसायिक समिक्षा एवम् कम्पनीको जीवन सारथी प्रचलनमा ल्याइएको जानकारी गराए । यस योजनामा “बाचुञ्जेलको साथी, एउटै बीमा काफी” नाराका साथ ल्याइएको तथा नेपालमै पहिलोपटक आफ्नै जीवनमा दुई गुणा बीमांक तथा बोनस समेत भुक्तानी हुने जीवन बीमा रहेको दावी गरिएको छ ।
आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्जाल ४० स्थानमा पुर्याइ सर्व साधारणको पहुँचमा जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिईएको कम्पनीले जनाएको छ ।
यसैगरी साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट प्रदिप जंग पाण्डे, अनोज रिमाल, सुमित कुमार अग्रवाल, महेश स्वाँर र मनोज कार्कीलाई सञ्चालकमा निर्वाचित गरेको छ । साधारणसभालगतै बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले प्रदिप जंग पाण्डेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित समय २१:०५ बजे