गृहपृष्ठ भन्सार चुहावट रोक्न सरकारले नयाँ संयन्त्र बनाउने
भन्सार चुहावट रोक्न सरकारले नयाँ संयन्त्र बनाउने
काठमाडौं ।
भन्सार नाकाबाट हुने राजश्व चुहावटको समस्यालाई न्यूनीकरण गर्न सरकारले स्थायी संयन्त्र निर्माणको तयारी गरेको छ । भन्सार मूल्यांकन प्रक्रियालाई चुस्त र यथार्थपरक बनाउन ‘डाटाबेस’ प्रणालीलाई परिष्कृत गर्ने गृहकार्य अगाडि बढाइएको विभागका महानिर्देशक तोयम रायले बताए ।
अब भन्सार मूल्यांकनको आधारका रुपमा रहेको ‘डाटाबेस’ प्रणालीलाई तीन÷तीन महिनामा परिष्कृत गरिने उनले बताए । यसका लागि विज्ञ समूह गठन गरेर त्यसले तयार गरेको भन्सार ‘डाटाबेस’का आधारमा भन्सार मूल्यांकन गरिने महानिर्देशक रायले बताए ।
आगामी साउन १ गतेदेखि नै यस्तो प्रणालीमा भन्सार मूल्यांकन गरिने उनको भनाइ छ । अहिले विभिन्न भन्सार कार्यालयसँग राय मागेर विभागले भन्सार मूल्यांकनको ‘डाटाबेस’ तयार गर्छ । एकपटक तयार गरिने यस्तो डाटाबेस ६ महिनादेखि ९ महिनासम्म कायम रहन्छ ।

नयाँ प्रणालीले आयात गरिएको वस्तुको वास्तविक कारोबार मूल्य पहिचान गर्न सहयोग हुने विभाग बताउँछ
‘अब चाहिं भन्सार मूल्यांकनका लागि स्थायी सम्यन्त्र नै आवश्यक देखिएको महसुस गरेर गृहकार्य अघि बढाएका हौं,’ रायले भने । अहिले विश्वबजारमा दैनिकपिच्छे वस्तुको मूल्य तलमाथि भइरहेको हुन्छ, तर विभागले एउटै डाटाबेसका आधारमा ९ महिनासम्म पनि भन्सार मूल्यांकन गरिरहेको छ । यसले भन्सार मूल्यांकनमा सुधार हुने अपेक्षा विभागको छ ।
ल्याउन लागिएको नयाँ प्रणालीले आयात गरिएको वस्तुको वास्तविक कारोबार मूल्य पहिचान गर्न सहयोग हुने विभाग बताउँछ । पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको विक्रेतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वास्तविक रुपमा भुक्तानी गरेको भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको वा लाग्नसक्ने भाडा, बीमा तथा अन्य सम्वद्ध खर्च जोडी हुन आउने कुल रकमलाई भन्सार ऐन–२०६४ ले कारोबार मूल्यका रुपमा अथ्र्याएको छ ।
अहिले विभागले पैठारी हुने मालवस्तुको भन्सार मूल्य निर्धारण गर्दा विश्व व्यापार संगठनको भन्सार महसुल तथा व्यापारसम्बन्धी सामान्य सम्झौतामा भएका विभिन्न ५ वटा विधिका आधारमा भन्सार मूल्यांकन गर्दै आएको छ । जसमा कारोबार मूल्य, आइडेन्टिकल गुड्स, सिमिलर गुड्स्, डिडक्टिभ भ्यालू, कम्प्युटेड भ्यालू मेथड छन् ।
व्यवसायीले भने ‘डाटाबेस’को यो प्रणाली परिवर्तन गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएका थिए । पहिले ‘आसिकुडा प्लस प्लस’ थियो । यो परम्परागत प्रणाली थियो, जसअनुसार भन्सार कार्यालयमा वस्तु जाँचपास भएपछि डाटा अपलोड गरेको खण्डमामात्रै कन्द्रीय प्रणालीमा सूचना पुग्थ्यो ।
तर, अहिले विभागले ‘आसिकुडा वल्र्ड’ प्रणाली अपनाएको छ । अनलाइन आधारित यो प्रणालीअनुसार कुनै भन्सार नाकामा कुन वस्तु कति मूल्यमा पास भएको छ, त्यसको जानकारी केन्द्रीय सर्भरबाट सोझै अवलोकन गर्न सकिन्छ ।
अब विभागले आसिकुडा वर्ल्ड प्रणालीका आधारमा ‘डाटाबेस’ तयार गर्नेछ । यो प्रणाली अपनाएपछि आयातमा देखिएको अन्य विकृति न्यूनीकरण गर्न पनि सहयोग मिल्ने विश्वास विभागको छ ।
‘हिजोका दिनमा विभागले एक्जिम कोर्ड लागू ग¥यो, त्यसले ४०÷४५ हजारको संख्यामा रहेका आयातकर्तालाई ८÷१० हजारमा झारेको थियो,’ विभागका महानिर्देशक रायले भने, ‘एकचोटी आयात गरेपछि हराउने गलत प्रवृत्तिलाई पनि नयाँ प्रणालीले थप नियन्त्रण गर्नेछ ।’
हाल कायम नै रहेका कानूनी व्यवस्थाको कार्यान्वयनमा चुस्तता ल्याउन र चुहावट रोक्न नयाँ ढंगबाट अघि बढ्न खोजेको विभागको बताएको छ ।
प्रकाशित समय ०८:४७ बजे

















