गृहपृष्ठ सल्यानमा उमारिएका टिमुर ४० जिल्लामा निर्यात

सल्यानमा उमारिएका टिमुर ४० जिल्लामा निर्यात

सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका बिरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो । जिल्लामा उत्पादन भएका टिमुरका बिरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा बिरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ ।

बिरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । ‘हामीले उत्पादन गर्ने बिरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट तीन लाखभन्दा बढी बिरुवाको माग आएको छ, मागअनुसार बिरुवा पाउन पनि गाह्रो छ,’ शर्माले भने ।

उनले उत्पादन गरेका टिमुरका बिरुवाहरु संखुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आए पनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए । ‘अहिले मसँग १ लाख ५० हजार रूपैयाँको मात्रै बिरुवा छ तर माग ३ लाख रूपैयाँ बराबरको छ, अन्य बिरुवा उत्पादकसँग समन्वय गरेर भए पनि पु-याउँछु,’ शर्माले भने ।

टिमुर प्रतिबिरुवा ४० का दरले बिक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । टिमुर तथा फलफूलका बिरुवा उत्पादन गर्दै आएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि बिरुवा पु-याउन नसकेर हैरानी खेप्नुपरेको छ ।

नर्सरीमा उत्पादन भएका बिरुवाहरु मुख्य मौसम नआउँदै बिरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको संख्या धेरै रहेको छ । ‘नर्सरीमा दुई लाख रूपैयाँ बढी बिरुवाहरु उत्पादन गरेको थिए, असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरुको ताँती छ, बिरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन,’ योगीले भने ।

समुद्र सतहदेखि १८ सय मिटर उचाइमा बिरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उनको भनाइ छ । प्रतिबिरुवा ५० देखि ६० रूपैयाँमा बिक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म बिरुवा उमारेको छौँ,’ योगीले भने ।

टिमुरका बिरुवाहरु खरिद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले भन्नुभयो । ‘नर्सरीमा उत्पादित १ लाख ३० हजार बिरुवा सबै बिकिसके,’ डाँगीले भने ।

जडीबुटीका रुपमा रहेको टिमुरको मूल्य । राम्रो आउने भएकाले पनि बिरुवाको माग बढिरहेको छ । अहिले दैनिक तीनदेखि चारवटा गाडीबाट टिमुरलगायत विभिन्न फलफुलका बिरुवाहरु निर्यात भइरहेका छन् । सुन्तला, जुनार, कागती, टिमुर, तेजपात, ओखर, स्याउलगायतका बिरुवाहरु निर्यात भइरहेको छ । (रासस)

प्रकाशित समय १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु