गृहपृष्ठ अकबरे खुर्सानीका व्यावसायिक किसान निराश
अकबरे खुर्सानीका व्यावसायिक किसान निराश
अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसान यो वर्ष निराश बनेका छन् । यो वर्ष अकबरे खुर्सानी निकासी भएको छैन । किसानले स्थानीय बजारमा निकासी हुँदा जस्तो मूल्य पाउने कुरै भएन । खेतीको क्षेत्रफल बढाएर उत्पादन धेरै बनाएका किसान गत वर्षको जति पनि मूल्य नपाएको गुनासो गर्न थालेका छन् ।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गत वर्ष यहाँबाट झन्डै साढे १२ करोड रुपैयाँको अकबरे खुर्सानी निकासी भएको थियो । खुर्सानी बिक्री हुँदा किसानमा उत्साह बढ्यो र खेती पनि बढाए । यो वर्ष किसानको उत्पादन बढ्यो तर खुुर्सानीले बजार नपाउँदा मूल्य घट्यो ।
१३ करोड रुपैयाँ बराबरको खुर्सानी निकासी गर्ने यो वर्षको लक्ष्य पूरा नहुने कृषि ज्ञान केन्द्रको अनुमान छ । गत वर्षभन्दा उत्पादन बढाएका किसान मूल्य घट्दा निराश देखिएका छन् ।
अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेबालीका रूपमा खेती हुने अकबरे खुर्सानीका बिरुवा, फल र बियाँ बेचेर किसानले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेका थिए । अकबरे खुर्सानीको माग भारतीय बजारबाट पनि आउन थालेपछि किसान व्यावसायिक खेतीतर्फ लागेका थिए ।
यसपालि भारतबाट माग कम आयो । बढेको उत्पादन आन्तरिक बजारमा खपत हुने कुरै भएन । गत वर्ष उत्पादन भएको ३२५ टन खुर्सानी पूर्वी तराई हुँदै बिर्तामोड र जोगबनी नाका भएर भारतका सिलगुढी, दार्जिलिङ, सिक्किम, कालेङपोङ, मेघालयलगायत भारतीय बजारमा निर्यात भएको थियो । यो वर्ष भारतबाट कम मात्र माग आयो ।
हङकङ, सिंगापुरलगायत मुलुकमा बस्ने नेपालीले पनि अकबरे खुर्सानीको माग गर्छन् । स्थानीय बजारमा गत वर्ष प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । यो वर्ष प्रतिकिलो २५० देखि ३ सय रुपैयाँ बिक्री मूल्य छ ।
तेह्रथुमका दुई नगरपालिका र चारवटै गाउँपालिकामा अकबरे खुर्सानीको व्यावसायिक खेती हुन्छ । उत्पादित खुर्सानी करिब ४५ प्रतिशत पूर्वका विभिन्न बजार हुँदै भारतीय बजारतर्फ निर्यात हुने गरेको छ । पर्याप्त सिँचाइ सुविधा नभएको जमिनमा समेत खुर्सानी खेती गर्न सकिन्छ । थोरै जमिनमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा अकबरे खुर्सानी खेतीप्रति किसानको आकर्षण बढदै गएको देखिन्छ ।
तेह्रथुममा पिरो प्रजातिका छ–सात थरीका खुर्सानी खेती हुने गरेको कृषिले जनाएको छ । ठुल्लो डल्ले, सानो डल्ले, गोलो लाम्चे, चिप्लो लाम्चेलगायत अबकरे खुर्सानीको खेती यहाँ गरिएको छ । हावापानीको हिसाबले १ हजारदेखि १ हजार ९ सय मिटरको उचाइसम्म अकबरे खुर्सानी खेती गर्न सकिने प्राविधिकहरू बताउँछन् । मिहिनेत, लगानी र क्षेत्रफल थोरै भए पनि धेरै उत्पादन गर्न सकिने भएकाले व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेको स्थानीय खुर्सानी किसानको धारणा छ ।
प्रकाशित समय ११:१८ बजे

















