गृहपृष्ठ मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने निर्णय

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने निर्णय

प्रदेश सरकारमार्फत गत आर्थिक वर्ष सम्पन्न भएका ८ सय ४२ योजनाका रकम भुक्तानीको माग गर्दै प्रदेश २ का सांसदहरुले आन्दोलन गर्ने भएका छन् । रकम भुक्तानीका लागि सरकारलाई अन्तिम अल्टिमेटम दिने सांसदहरुको तयारी छ ।

यस विषयमा सांसदले प्रदेशसभा बैठकसमेत अवरुद्व गर्दै आएका छन् । प्रदेश सरकारलाई अन्तिम अल्टिमेटम दिने विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलका तीन दर्जन सांसदहरुले प्रदेशसभा भवनमै छलफल गरेका छन् ।

छलफलमा सहभागी राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद विन्देश्वर यादव ‘विक्की’ले जनता पीडित भएपछि उनीहरुलाई साथ दिनु आफूहरुको कर्तव्य भएको बताए । रकम भुक्तानीको सन्दर्भमा मुख्यमन्त्रीसँग भेटेर कुरा गर्ने विषयमा सांसदहरु एकमत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामचन्द्र मण्डलले जानकारी दिए ।

पाँच दिनको अल्टिमेटमसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सो अवधिभित्र पनि रकम भुुक्तानी नभए तालाबन्दी गर्ने निर्णय भएको छलफलमा सहभागी सांसदहरुले बताएका छन् ।

प्रदेश २ मा गत आर्थिक वर्षमा काम सम्पन्न भएका ८ सय ४२ योजनाको ८३ करोड र संसदीय रकम गरी ९१ करोड भुक्तानी हुन बाँकी छ । रकम भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरु समेत आन्दोलनरत छन् । उनीहरुले यसअघि मुख्यमन्त्री तथा मन्त्रीहरुको फोटोमा जुत्ता प्रहार गरेका थिए ।

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु