गृहपृष्ठ खाना महोत्सवमा दैनिक पाक्छ हजार लिटर ‘फाँडो’

खाना महोत्सवमा दैनिक पाक्छ हजार लिटर ‘फाँडो’

होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदूरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा ग्राहकहरु दंग भएका छन् ।

बिहिबारदेखि धनगढीको खुलामञ्चमा जारी खाना महोत्सवमा ग्राहकहरुले फरक स्वादका मौलिक परिकार खाइरहेको होटल व्यवसायी संघका सचिव आभेष चन्दले बताए ।

यसक्षेत्रका भन्दा पनि देशका अन्य भागबाट आएका र विश्वका विभिन्न देशबाट आएका साहित्यकार अझ बढी मौलिक स्वादमा रमाइरहेको उनले बताए । साथै विश्व नेपाली साहित्य महोत्सव भइरहँदा त्यसमा सहभागी हुन आएका साहित्यकार र अन्य मानिसहरुले फाँडोलाई निकै मन पराइरहेका छन् । उनीहरुले पहिलो पटक फाडो खाँदा स्वादिष्ट लागेको प्रतिक्रिया दिइरहेका छन् ।

सचिव चन्दले भने, ‘सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई पाहुनाले चाखपूर्वक मन पराईरहेका छन् । दैनिक रुपमा एक हजार लिटर फाँडो पाकिरहेको छ । सबै सिद्धिरहेको छ ।

फाँडो सुदूरपश्चिमको मौलिक खानाको परिकार हो । फाँडोलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेर यसलाई ग्राहकहरुले खाने परिकारको रुपमा विकास गर्नका लागि दैनिक एक हजार लिटर फाडो पाकिरहेको हो । यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहेका ग्लोवल नेप्लिज सेफ फेडरेसनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी लगायतको टोलीले फाँडोलाई व्यवसायीकरणका लागि काम गरिरहेका छन् ।

ठूला तारे होटेल तथा रेष्टुरेन्टमा यसलाई समावेश गर्नका लागि त्यसका लागि आवश्यक पर्ने थप सामानहरु राखेर पनि त्यसको चेकजाँच भईरहेको छ । हामी फाँडोलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर लागिरहेका छौं । त्यसकै लागि फाँडो खाएर त्यसमा फिडव्याक आओस् भनेर दैनिक रुपमा ग्राहकहरुलाई खुवाइरहेका छौं । अध्यक्ष भण्डारीले भने, ‘ढिडो आज आएर महँगो मूल्यमा विक्री भईरहेको छ भने फाँडो किन हुदैंन् । हामीले यसलाई पनि मौलिक परिकारको रुपमा विकास गर्नुपर्छ । त्यसका लागि हामीले पनि प्रयास गरिरहेका छौं ।’

धनगढीमै आएर यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहेका भण्डारीलगायत उनको टोलीले विभिन्न खानाका परिकारहरु पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने लगायतका फरक र नयाँ कार्यहरु पनि खाना महोत्सवमा गरिरहेका छन् ।

२० फागुनसम्म सञ्चालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएका छन् । रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए ।

‘सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किएका छौँ,’ होटेल व्यवसायी संघका अध्यक्ष बमले भने, ‘संस्कार र संस्कृति जोगाउनका लागि खाना महोत्सव सुरु गरेका हौं । प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरेलगायतका परिकारहरुको स्वाद दिइरहेका छौं ।’

महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् ।

धनगढीमा बुधवारदेखि सुरु भएको ‘विश्व नेपाली साहित्य महोत्सव’सँगै खाना महोत्सवको आयोजना गरेर महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिरहेको आयोजकले जनाएको छ ।

‘विश्व नेपाली साहित्य महोत्सव’मा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुलाई खुवाउनका लागि एक हजार लिटरको भाडामा फाँडो समेत पकाएर खुवाइरहेको होटल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिए ।

फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन् भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन् । ‘परम्परागत खानपानका परिकारहरु मानव स्वास्थका लागि निकै नै लाभदायक, अर्गानिक तथा विषादी रहित छन् भनेर प्रचार प्रसार गर्नु, स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई उपभोग गर्ने बानीको विकास गर्नु र नयाँ पुस्तालाई मौलिक खानाका परिकारहरुको विषयका जानकारी गराउनु महोत्सवको उद्देश्य हो ।’

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले भने, ‘परम्परागत खानपान, भेषभूषा, संस्कार र संस्कृति सहित आएका स्टलहरु निःशुल्क प्रदान गरिएको छ । प्रदुषणलाई न्यूनीकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरी सम्पूर्ण खानाका परिकारहरुलाई दुना, टपरी र बोहतामा दिइरहेका छौं । यसले गर्दा वातारणीय प्रदुषण न्यूनीकरण गर्न मद्दत पुग्नेछ भने अर्कोतर्फ स्थानीय स्तरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना हुनेछ ।’

एक सातासम्म चल्ने महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । महोत्सवमा एक हजार लिटरको भाडोमा फाँडो पकाउनेलगायतका विभिन्न खानाका परिकारहरु पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने, अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकद्वारा वार टेन्डर्स सम्बन्धी कला देखाउने लगायतका फरक र नयाँ कार्यहरु महोत्सवमा भइरहेका छन् ।

महोत्सवको माध्यमले यस क्षेत्रको परम्परागत खानपान, रहन सहन, भेषभूषा, संस्कार र संस्कृित उजागर हुनुका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई आफ्नो लक्ष्य पूरा गर्न पूर्ण रुपमा सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन् ।

खाना महोत्सव सँगसँगै एउटै मैदानमा सुदूरपश्चिमञ्चल साहित्य समाजको आयोजनामा विश्व नेपाली साहित्य महोत्सव आयोजना भइरहेकोले सुदूरपश्चिमको परम्परागत खानपान, रहनसहन, भेषभूषा, संस्कार र संस्कृतिको सहज रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए ।

सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरु र विभिन्न जातजातिका खानाका परम्परागत परिकारहरुको स्वाद लिने र भेषभूषा, संस्कार र संस्कृतिको अवलोकन गर्न मिल्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्ने व्यवस्था मिलाइएको छ ।

धनगढीमा सुरु भएको पहिलो सुदूरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा, होटल सनलाइट र आफ्नो घर टेम्पल रिसोर्ट रहेका छन् ।

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु