गृहपृष्ठ विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौ : मुख्यमन्त्री भट्ट
विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागेको आवासगृहको आज शिलान्यास गर्दै उनले ती क्षेत्रको थप विकास तथा विस्तार गर्न नीतिगत योजनाका साथ उच्च प्रथामिकता दिँदै आवश्यक रकम विनियोजनसमेत भएको जानकारी दिए ।
प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा मन्दिरमा आउने सन्त र महन्तका लागि सो आवासगृह निर्माण गरिन लागिएको हो ।
मुख्यमन्त्री भट्टले भने, ‘यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न जरुरी रहेको छ । यसबाट हजारौँ पर्यटक भित्र्याउन सकिन्छ । समग्र सुदूरपश्चिमकै विकास हुने भएकाले हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौँ ।’
विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए । उनले थप भने, ‘सुदूरपश्चिमभरिकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वार भनेकै शैलेश्वरी हो । खप्तडमा पर्यटक भित्र्याउन शैलेश्वरी क्षेत्रको विकास गर्नु जरुरी छ ।’
मुख्यमन्त्री भट्टलाई समितिले अभिनन्दनसमेत गरेको थियो । शैलेश्वरी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि महत्वपूर्ण योग्दान गरेको भन्दै मुख्यमन्त्री भट्टलाई अभिनन्दन गरिएको समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए ।
प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा उद्यानसहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्षदेखि सुरू हुने मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले जानकारी दिए । उनका अनुसार उक्त कामका लागि प्रदेश सरकारले कूल ८० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । (रासस)
प्रकाशित समय १३:२३ बजे

















