गृहपृष्ठ कांग्रेसका नेताहरुले भत्काए नेपाली भूमिमा गाडेका पिल्लर
कांग्रेसका नेताहरुले भत्काए नेपाली भूमिमा गाडेका पिल्लर
नेपाल-भारत संयुक्त सीमासर्भे टोलीले दुई देशबीचको सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने नाममा लालपुर्जा प्राप्त नेपाली भूमिमा पिलर गाडेपछि त्यसलाई स्थानीयले भत्काएका छन् ।
सीमा क्षेत्रमा विगतदेखि यथावत् रहेको विवाद समाधान हुन नसकेको हुँदा बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाको झन्डै ७० बिगाहाभन्दा बढी नेपाली भूभाग भारततर्फ पर्ने गरि धामाधम पिलर गाड्न थालिएपछि स्थानीय जनता आक्रोशित बनेका हुन् ।
ब्रिटिस कालमा स्थापित जंगे पिलरहरुको आधारमा नगरी २०६०/०६१ सालमा गाडिएका स्तम्भका आधारमा नक्सांकन गर्न थालिएपछि थप नयाँ स्थानमा समेत सीमाको विवाद बढेको हो । सीमा व्यवस्थापनका नाममा गरिएको नक्सांकन र पिलर गाढ्ने कार्यबाट विवादित बनेको बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिका स्थित सीमा क्षेत्रमा नेपाली कांग्रेस कञ्चनपुरले स्थलगत अनुगमन गरेको छ ।
कांग्रेसका नेता एवं पूर्वसांसदद्वय दिवानसिं बिष्ट र बहादुरसिं थापा, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरासहितका नेता कार्यकर्ता सम्मिलित टोलीले सो क्षेत्रको अनुगमन गरेको हो । सो क्रममा कांग्रेसका स्थानीय कार्यकर्ता र सर्वसाधारण नागरिकले हालै निर्माण गरिएका सीमा स्तम्भ तोडफोड गरेका छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३/४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरेका हुन् । सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।
बेलौरी नगरपालिका १० भुँडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा २०५२ सालमा निर्माण सम्पन्न भएको महाकाली सिंचाइ परियोजनाको नहर किनारमै खनिएका खाल्डासमेत उनीहरुले पुरिदिएका छन् । सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता दिवानसिं बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवादप्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताए ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतसँग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा टोलीले गरेको कामबाट समाधान होइन विवाद चर्कने अबस्था देखिएको छ । विगतमा कुनै विवाद नदेखिएका क्षेत्रमा सर्भे टोलीले काम गर्दा विवाद देखिन थालेको हो ।
नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गासमेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमास्तम्भ राख्न थालेपछि सीमा क्षेत्रका नागरिक चिन्तित र आक्रोशित बनेका छन् ।
भत्काउनु पूर्व जनप्रतिनिधिको निरीक्षण
भारतसँग सीमा जोडिएका कञ्चनपुरको बेलौरी तथा बेलडाँडीमा संयुक्त सीमा सर्वे टोलीले सीमा सर्वे गर्ने क्रममा नेपालको जमिन भारतमा पर्ने गरि सीमा स्तम्भ राखेको भन्दै शनिबार स्थानीय जनप्रतिनिधि सहितको टोलीले पनि निरीक्षण गरेको थियो ।
पाँच दशकदेखि भोग चलन गर्दै आएको र नेपाल सरकारलाई करसमेत तिर्दै आएको जग्गामा रातारात सीमास्तम्भ निर्माण हुन थालेपछि यस क्षेत्रका उनीहरुले विरोध गरेका हुन् । स्थानीय सरकारसँग सहकार्य नगरी रातारात सीमास्तम्भ निर्माण भएपछि छानविन गर्न स्थानीयले माग गरेका छन् ।
बेलौरी नगरपालिका १० मा विश्व वैंकको सहयोगमा बनेको महाकाली सिचाँईको नहरनै भारतमा पर्नेगरी पिल्लर निर्माण हुन लागेको हुँदा यसको अनुसन्धान हुनुपर्ने सीमा सरोकार समितिका सदस्य लोकराज पन्तको माग छ ।
जनयुद्धको बेलामा संयुक्त सीमा सर्भे टोलीका मधुकर मास्केको टोलीले स्ट्रिम नक्सा बनाएर भारतीयहरुसँग मिलेर नेपाली भूभाग भारतमा पार्ने काम गरेकाले यसको छानविन गरी कारबाही गर्नुुपर्ने स्थानीय गोपाल पन्तले बताए । टोलीले जसरी पनि काम सक्ने तरिकाले राति आउने गरेको हुँदा स्ट्रिम नक्सा खारेज गरि छानविन हुनुपर्ने माग उनको छ ।
विश्व बैंकको लगानीमा नहरको नक्सा सीमा पारी पार्नेहरुलाई कारबाही गर्नुपर्ने बेलडाँडी गाँउपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले बताए । कञ्चनपुरको दक्षिणी भेगका विवादित सीमा क्षेत्रको अनुगमन गर्दै वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले नेपालका २६ जिल्ला भारतसँग जोडिएका र धेरै ठाँउमा सिमाना विवाद र ज्यादति भएको उनले बताए ।
सीमा अतिक्रमण भइरहेको बेलामा जनताले उठाएको आवाजको प्रशंसा गर्दै उनले संकटकालको मौका छोपी नेपाल र भारतका प्राविधिकहरुले गरेको नक्सांकन त्रुटिपूर्ण भएको दाबी गरे ।
नेपाली भूमि रातारात भारतमा पर्नेगरि नक्सांकन गरिएको हुँदा सीमा रक्षाको लागि जस्तोसुकै वलिदान गर्न तयार रहेको स्थानीयहरुले बताएका छन् ।
भारतीयहरुले समेत नेपाली भूमिमा हस्तक्षेप गर्न नसकेको अवस्थामा नेपालीहरुले नै षडयन्त्र गरि देशमाथि गद्दारी गरेको भन्दै नेकपा क्षेत्र नम्वर १ का संयोजकत्वमा सीमा सरोकार समिति गठन गरिएको छ । उनीहरुले नेपाल सरकारलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
प्रकाशित समय १०:३८ बजे

















