गृहपृष्ठ ‘बल्ल अब चुलो बल्ने भो’

‘बल्ल अब चुलो बल्ने भो’

फाइल तस्बिर

पोखरामा महानगरपालिका­- ३१, बेगनास तालका विपन्न परिवारका सदस्य राहत बाँड्ने थाहा पाएपछि एक घण्टा अगाडि नै आएर लाइनमा बसिरहेका थिए । त्यही लाइनमा मुखमा पछ्यौरा बेरेर गौशाला विक पनि पालो कुरिरहेकी थिइन् । वडाले बेगनास युवा क्लबको प्राङ्गणमा राहत बाँड्ने व्यवस्था गरेको थियो ।

आफ्नो पालो आएपछि गौशाला राहत बुझ्न गइन् । राहत सामग्री लिएर आउँदै गर्दा उनको अनुहारमा केही खुशी देखिन्थ्यो । ‘आजसम्म त जसोतसो चुलो बलेको थियो, अब भोलिदेखि के खाने भन्ने चिन्ता थियो, राहत पाएपछि अब भोकै बस्नु परेन,’ विकले भनिन् ।

गौशाका श्रीमानले घर बनाउने काम गरेर चार जनाको परिवार पाल्दै आएका थिए । लकडाउनले काम गर्ने वातावरण नभएपछि परिवारमा छाक टार्न समस्या देखिँदै गएको विकले बताइन् । ‘अलिअलि कमाएको पनि यतिका दिन खाँदा सकियो । अब के खाने भन्ने चिन्ता थियो, केही दिनलाई राहत भयो,’ उनले भनिन् ।

त्यसैगरी राहतले तत्कालको समस्या समाधान गरेकामा राहत बुझ्न आएकी कविता पाठकले पनि खुशी व्यक्त गरिन्, ‘श्रीमानले गाडी चलाउनुहुन्छ तर अहिले काम भएन, केही दिनका लागि जोहो गरेको रासन सकिँदै जाँदा चिन्ता पनि थपिएको थियो, अब ढुक्क भयो ।’

वडा नं ३१ मा रहेका अतिविपन्न र दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका ४०७ परिवारलाई महानगरले राहत वितरण गरेको हो । उक्त वडाका अध्यक्ष कमल थापाले वडामा रहेका अतिविपन्न परिवारको छनोट गरेर राहत वितरण गरेको बताए । उनले शनिबार आठौँ क्लष्टरमा १२५ जनालाई राहत वितरण गरिएको जानकारी दिए । यसअघि वडाले विभिन्न स्थानबाट लाभग्राही छनोट गरेर सात ठाउँमा राहत वितरण गरिसकेको छ ।

यता बेगनास बस्दै आएका रौतहटका सुनिल बैठाले राहतका लागि नाम टिपाए पनि आफ्नो नाम काटिएको र राहत नपाएको दुखेसो व्यक्त गरे । ‘म १६ वर्षदेखियता भाडामा बस्दै आएको छु, गाडीमा हिँड्ने गर्छु, तर मेरो नाम काटियो, राहतमा विभेद भयो, हामीले खानु पर्दैन,’ उनले भने।

वडाध्यक्ष थापाले भने कसैको नाम नकाटिएको बताए । उनले भने, ‘हामीले विभिन्न सामाजिक अगुवासहित बसेको सर्वदलीय बैठकले ४०७ जनाको नाम छनोट गरेका हौँ, विपन्न परिवारका १२० जनापछि थपिएकाले उहाँहरु छुट्न पुग्नुभएको हो, छुटेकालाई एक/दुई दिनमा राहतको व्यवस्थापन गर्नेछौँ ।’ थापाले वडामा बाहिरबाट आएर मजदूरी गर्ने परिवार रहेको र लकडाउनले उनीहरुको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै थापाले भने, ‘राहतमा विपन्न परिवार कोही पनि छुट्नु हुन्न भन्ने हाम्रो मान्यता छ, वडाले कसैलाई काखा र कसैलाई पाखा गर्दैन ।’

राहतमा चामल, तेल, नून र दाल गेडागुडी बाँडिएको उनले बताए । तीन जनाको परिवारलाई आधा र त्योभन्दा माथिको परिवारलाई एक बोरासहितको राहत उपलब्ध गराएको उनको भनाइ छ । सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले दैनिकरुपमा ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका निम्न आयस्रोत भएकालाई लकडाउनको अवधिभरिका लागि आवश्यक राहत प्याकेजको घोषणा गरेको छ । पोखरा महानगरपालिकाले साढे दुई करोड मूल्यको राहत कोष स्थापना गरेर महानगरका ३३ वटा वडामा राहत वितरण गरिरहेको छ । (रासस)

प्रकाशित समय २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु