गृहपृष्ठ लकडाउन खुलेको हल्ला चलेपछि सयौँ नेपाली भारत प्रवेश, प्रहरीद्वारा लाठीचार्ज
लकडाउन खुलेको हल्ला चलेपछि सयौँ नेपाली भारत प्रवेश, प्रहरीद्वारा लाठीचार्ज
हल्लाको पछि लाग्दा कोही उतै रोकिए, कोही बिचैमा अलपत्र
‘लकडाउन खुल्यो’ भन्ने हल्ला चलेपछि महोत्तरीको मटिहानीका सयौं नेपाली भारत प्रवेश गरेका छन् । सामान खरिद गर्न भन्दै भारतको मधवापुर सीमा नाका प्रवेश गरेका उनीहरु अहिले उतै रोकिएका छन् ।
महोत्तरीका मानव अधिकारकर्मी अर्जुन साहका अनुसार मटिहानी र मधवापुरको सीमा नाकामा दुवैतर्फ प्रहरी तैनाथ रहेकै बेला केही समय सीमा खोलिएको बेला एकाएक नेपालीहरु भारततर्फ प्रवेश गरेका हुन् । लगत्तै दुवै तर्फका सुरक्षाकर्मीले सिमानामा कडाई गरेपछि नेपालीहरु भारतीय भूमिमै अलपत्र परेको उनले बताए ।
केही स्थानीयहरुले लकडाउन खुलेको हल्ला गरेपछि एकाएक जम्मा भएका नेपालीहरु भारततर्फ प्रवेश गर्न थालेपछि लाठीचार्ज गर्नुपरेको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए । भारत छिरेकाहरु उतै अलपत्र परेकोबारे भने आफूलाई केही थाहा नभएको एसपी अधिकारीको भनाइ छ ।

‘उता रोकिएकाहरु सीमा क्षेत्रकै नेपाली र २/४ जना मात्र भए फर्काउन सकिन्छ । तर अन्य ठाउँका भए केही गर्न सकिन्न,’ उनले भने । एसपी अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सीमा नाका भएकाले जति नै कडाई गर्दा पनि हरेक दिन २/४ जना स्थानीयहरु सामान खरिद गर्न भन्दै भारततर्फ जाने-आउने गरेका छन् । कोरोना संक्रमण रोक्न प्रशासनले सीमा नाकामा जनशक्तिसहित सुरक्षा पोष्ट थप गरेको छ ।
प्रकाशित समय २२:१८ बजे

















