गृहपृष्ठ हेटौंडा उपमहानगरले सुरु गर्‍यो ड्रोन सर्वेक्षण

हेटौंडा उपमहानगरले सुरु गर्‍यो ड्रोन सर्वेक्षण

हेटौंडा उपमहानगरले लकडाउनको समय सदुपयोग गर्दै अबको करिब १५ दिन आकाशमा मानवरहित हवाई यन्त्र (ड्रोन)मार्फत सर्वे एवं नक्सांकन गर्ने भएको छ । उपमहानगरपालिको भवनमा बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख हरि बहादुर महतले ड्रोन सर्वेक्षणको सुभारम्भ गरेका छन् ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाको चाँगुनारायण नगरपालिकाबाट ड्रोन सर्वे एवं नक्सांकन सुरु गरेको यस परियोजनाले सहयोगस्वरुप बागमती प्रदेशको राजधानी हेटौंडामा समेत यस कार्यको सुरुवात गरेको छ । पहिलो चरणमा हेटौंडा उपमहानगरको वडा नं १, २, ४, ५, ७, ८, ९, १० बाट ड्रोन सर्वे एवं नक्सांकन सुरुवात गरिने भएको छ । यस परियोजनाको सुरुवातका लागि आवश्यक अनुमतिको प्रबन्ध तथा सहजीकरण हेटौंंडा उपमहानगरपालिकाले गरेको छ ।

नगरप्रमुख महतले यस प्रकारको नक्साले उपमहानगरको सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना (Street Address) निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताए । परियोजनामा संलग्न भएका विभिन्न विज्ञ तथा संस्थाहरुको निशुल्क प्राविधिक सहयोगप्रति उनले आभार प्रकट गरे ।

 नक्सांकन परीयोजनाले विभिन्न जीआइएस विज्ञ, सहरी विकास योजनाविद्, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ । यसको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद व्यवस्थापनमा सहयोग पुर्‍याउने रहेको परियोजनाका संयोजक ई. सुरज गौतमले जानकारी दिए । नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले यस कार्यको लागि आवश्यक ईन्जिनियरहरुको उपलब्धता र समन्वय गर्ने भएको छ ।

लकडाउनको समयमा न्यून वायु प्रदुषण, सफा दृश्यता र न्यून सवारी चापले गर्दा नक्सांकनमा सहज हुने भएकाले सो समयको सदुपयोग गर्दै अबको करिब १५ दिन आकाशमा मानवरहित हवाई यन्त्र (ड्रोन)मार्फत सर्वे एवं नक्सांकन गर्ने कार्यक्रम रहेको छ । नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता उपमहानगरपालिकाको नियन्त्रणमा हुनेछ ।

आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजनाअन्तर्गत उडान भइरहेको रुपमा लिई सहजता अपनाउन सम्पूर्ण नगरबासीमा नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु