गृहपृष्ठ कुहिएको चामल आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सुझाव, खरिद प्रक्रियामा संलग्नलाई उन्मुक्ति !

कुहिएको चामल आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सुझाव, खरिद प्रक्रियामा संलग्नलाई उन्मुक्ति !

धनगढी उपमहानगरपालिकाले वितरण गरेको राहत चामल कुहिएको भेटिएपछि छानबिन गर्न गठित समितिले चामल आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । उपमहानगरपालिकाले खरिद गरेको चामलमध्ये २ हजार १० किलोग्राम गुणस्तरहीन भेटिएकोे थियो ।

समितिले छैठौँ दिन छानबिन प्रतिवेदन कार्यालयपालिका बैठकमा पेश गर्दै आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई हदैसम्मको कारबाहीको सिफारिस गरेको हो । राहतको चामल आपूर्तिका लागि ठेक्का पाएको आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई खरिद ऐनअनुसार सम्झौता अन्त्य गर्न सक्ने सुझाव समितिले दिएको छ । छानबिन समितिले वैशाख १४ गते भएको खरिद सम्झौताबमोजिम आपूर्ति नभएकाले खरिद सम्झौताको अन्त्य गर्न सक्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

आपूर्तिकर्ता फर्म ठाकुर ट्रेड लिंकले धनगढी उपमहानगरपालिका र सो फर्मबीच भएको सम्झौता कार्यान्वयन गर्दा सम्झौता अनुरुपको दायित्व पालना नगरेको पाइएकाले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ बमोजिम फर्मलाई कालोसूचीमा राख्ने कार्यलगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्न छानबिन समितिले सुझाव दिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए । उनका अनुसार सुझावलाई ग्रहण गर्दै कानुनी सल्लाहका आधारमा अन्य कारबाहीका प्रक्रियाहरु उपमहानगरले अगाडि बढाउने छ ।

खरिद प्रक्रियामा सहभागीलाई बचाइयो

छानबिन समितिले कर्मचारी र जनप्रतिनिधिका लागि भने कुनै सुझाव दिएको छैन । खरिद प्रक्रियामा सहभागीहरुलाई सोधपुछ तथा स्पष्टीकरण सोध्न समितिले सुझाव दिएको छ । छानबिन समितिको सुझावलाई आधार मानेर उपमहानगरको कार्यपालिका बैठकले सो निर्णयसमेत गरिएको छ । हाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कागजात लगेर अनुसन्धान गरिरहेकाले खरिदमा संलग्नका लागि अख्तियारको निर्णय पर्खेको प्रवक्ता मुडभरीको भनाइ छ ।

धनगढी उपमहानगरपालिकाको १, २, ४ र ५ नम्बर वडामा सो गुणस्तरहीन चामल वितरण भएको थियो । राहतमा वितरण गरिएको चामल कुहिएको भेटिएपछि स्थानीयले विरोध गर्दै चामल फिर्ता गरेका थिए । सोपश्चात छानबिन समिति गठन गरी सम्पूर्ण वडाको राहत वितरणसमेत रोकेको थियो । हाललाई मौज्दात रहेको खाद्यान्नबाट वितरण गर्ने र थप खाद्यान्न खरिदका लागि प्रक्रियामा जाने उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई २ लाख रुपैयाँ जरिवाना गरिसकेको छ ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु