गृहपृष्ठ अत्यास लाग्दो कर्णालीका क्वारेन्टिन !
अत्यास लाग्दो कर्णालीका क्वारेन्टिन !
त्रिपाल क्वारेन्टिन : घाम लागेको बेला सहनै नसकिने गर्मी, बर्षातमा सबै पानी भित्र
रमेश रावलको फेसबुकबाट
केही दिन अगाडी मात्रै भारतको अहमदाबादबाट आएका दुल्लु नगरपालिका ११ कालभैरब खाइतडा दैलेखका ३५ वर्षीय युवाको शनिबार क्वारेन्टिनमा मृत्यु भयो । भारतमा होटेलमा काम गर्दै आएका उनी दुल्लु नगरपालिका ७ को नेपाल विद्युत् प्राविधकरणको १८ कोठे भवनमा बस्दै आएका थिए ।
स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएका उनी शनिबार बिहान एक्कासी भुँईमा लडे र करिब ७ बजेतिर उनको मृत्यु भयो । ७९ जना बस्दै आएको उक्त क्वारेन्टिनमा स्वास्थ्यकर्मी भने थिएनन् । भवनको नजिकै बस्दै आएका एकजना स्वास्थ्यकर्मीले उनलाई स्वास्थ्यमा समस्या आएपछि हेर्दै थिए तर उनको ज्यान बचेन ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सबै वडामा शहरी स्वास्थ्य केन्द्र रहेको र उक्त केन्द्रमा काम गर्ने एकजना स्वास्थ्यकर्मीले जिल्ला अस्प्ताल दैलेखबाट डाक्टरहरुको टोली नजाँदासम्म थापालाई हेरेका थिए । नगरपालिकाका प्रमुख भण्डारीका अनुुसार मृतक थापा बिहान उठ्दासम्म स्वस्थ्य नै रहे पनि उनको एक्कासी मृत्यु भएको हो । उक्त क्वारेन्टिनमा एकजना सुरक्षाकर्मीको मात्रै व्यवस्था गरिएको छ ।
बुधबार उनको स्वाब पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो । उनको मृत्यु भइसकेपछि शनिबार मात्रै उनको रिपोर्ट आयो पोजेटिभ । कर्णाली प्रदेशकै नमुना क्वारेन्टिन भनिएको राजधानी वीरेन्द्रनगर सुर्खेतको घन्टाघर क्वारेन्टिनमा बस्दै आएका बराहताल गाउँपालिकाका एक जना युवाले अत्यावश्यक सुविधासमेत राम्रो सुविधा नभएको गुनासो गरे । ‘दाल-भात काँचो आउँछ, उनले भने, ‘सबै साथीहरुलाई पखाला लाग्ने समस्या देखिएपछि शुक्रबार राति आन्दोलन गरी भोकै सुत्यौं । शनिबार बिहान भने पाकेको खाना आयो ।’
क्वारेन्टिनको शौचालयमा पानी नहुने, अर्कैको तौलिया र साबुन प्रयोग गर्नुपर्ने समस्या भोग्दै आएको उनले बताए । ‘घाम लागेको दिन पाल तातेर टाउको फुट्लाजस्तै हुन्छ,’ उनले थपे, ‘पानी परेको बेलामा पनि पानी भित्रै पस्छ ।’ एक दिन त भात खाने थाली नभएर आफूले अर्को टेन्टबाट ल्याएर खाना खाएको उनले बताए । गत १२ गते आफूहरु क्वारेन्टिनमा आएको र १३ गते स्वाब लिन डाक्टरहरु आएदेखि चेकजाँच कसैले पनि नगरेको उनले बताए ।
त्यसो त दैलेख जिल्ला आठबिस नगरपालिका १ सात्ततलाका कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमितले समेत क्वारेन्टाईन अव्यवस्थित भएको भन्दै आफूलाई उद्धारका लागि हारगुहार गरेका थिए । नारायण नगरपालिका ८ दैलेखको सरस्वती माद्यामिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका उनले विद्यालयको हलमा बिस्तारा र थर्मस् बाहेकको अन्य सुविधा नभएको गुनासो गरेपछि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ल्याइएको थियो ।
पछिल्लो समय क्वारेन्टिनबाट भाग्नेहरुको समेत कमी छैन । क्वारेन्टिनमा आधारभूत स्वास्थ्य सेवासमेत नभएको र भद्रगोल अवस्था भएको दैलेख जिल्लाका नागरिक समाज अगुवा खड्क सिंजापतिले बताए । सामाजिक दुरी कायम नगरेरै धेरैलाई एकै ठाउँमा खाँद्ने गरेको उनले बताए ।
‘यो स्थितिमा कोरोना नियन्त्रणभन्दा फैलन सहयोग पुग्छ,’ उनले भने, ‘क्वारेन्टिनमा आवश्यक सामाग्रीको समेत तेब्बर बिल बनाउने काम भएको छ ।’
गाउँको बिचमा भएका विद्यालयहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दा केही व्यक्तिहरु साँझ घर गई बिहान क्वारेन्टिन आउनेसमेत गरेको उनले बताए । कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । भारतबाट कर्णाली भित्रिनेको समेत कर्णालीमा संख्या कम छैन । गाउँमा भएका विद्यालय भवन र सहरमा भएका क्याम्पस र सामुदायिक विद्यालय भवनमा कतै पनि ठाउँ खाली छैन । पछिल्लो समय भैंसीको गोठलाई समेत केही स्थानीय तहले क्वारेन्टिनको रुपमा प्रयोग गरेका छन् ।
क्वारेन्टिनमा मुख्य बसाईको दुरी कायम गर्ने हुनुपर्छ । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले एकै पटक भारतबाट आउँदा थेग्न समस्या भए पनि रोग संक्रमण फैलिन नदिन क्वारेन्टिनमा बेड तीन मिटरको दुरीमा हुनुपर्ने बताउँछन् । उनका अनुसार आठदेखि १० जनाले एउटा शौचालय प्रयोग गर्नुपर्ने, बसेकालाई व्यक्तिगत सरसफाई सामाग्री उपलब्ध गराउनुपर्ने, प्रर्याप्त पानी, साबुन, मास्क उपलब्ध गराउनुपर्ने र क्वारेन्टिनमा कम्तिमा तीन जना सरसफाई गर्ने कर्मचारी राख्नुपर्ने, मापदण्ड छ ।
संघीय सरकारले ल्याएको क्वारेन्टिनमा बसेका व्यक्तिका लागि स्वास्थ्य सम्बन्धि व्यवस्थामा क्वारेन्टिनमा प्रति सय जनाका लागि एक जना चिकित्सकसहित एक जना नर्स र एक जना प्यारामेडिक्सको व्यवस्था हुनुपर्ने, क्वारेन्टिनमा बसेका व्यक्तिहरुको दिनमा कम्तिमा दुई पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने, २४ सै घण्टा एम्बुलेन्सको सुनिश्चित गर्नुपर्ने र एक केजी अक्सिजन सिलिण्डर राख्नुुपर्ने मापदण्डमा उल्लेख छ ।
डा. पौडेलले अहिले भारतबाट आउने संख्या बढी भएकाले स्थानीय तहमा राख्न समस्या भए पनि दुरी भने तीन मिटरको गराउनुपर्ने सुझाव दिन्छन् । एउटा कोठामा प्रकृति हेरेर आठ/दश जनासम्म राखे पनि तीन मिटरसम्मको दुरी कायम गरे जोखिम कम हुने उनले बताए । क्वारेन्टिनका कोठामा झ्याल खुल्ला, सरसफाइमा ध्यान दिनुपर्ने, स्वस्थ खाना र पानीको व्यवस्था अनिवार्य हुनुपर्ने उनको भनाई छ । भारतबाट आउनेको संख्या बढिरहेकाले क्वारेन्टिन बेड संख्या बढाउनुपर्ने उनले सुझाव दिए । उनले भने, ‘धेरै संख्यामा मनिसहरु आएकाले व्यवस्थापनमा कठिनाई त भएकै छ । तर यसो भनिरहेर जोखिम निम्ताउनु हुन्न । सरकारले बेड संख्या थप्ने र व्यवस्थित गराउने तर्फ लाग्नुपर्छ ।’
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लामा गरी जम्मा ३५१ वटा क्वारेन्टिन रहेका छन् । जसमा २३ हजार ६९५ बेडसंख्या रहेका मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । उनले हालसम्म क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु १५ हजार ५९० जना रहेका छन् ।
प्रकाशित समय १६:१५ बजे

















