गृहपृष्ठ मास्क नलगाउनेबाट दुईसातामा १ लाख राजस्व संकलन

मास्क नलगाउनेबाट दुईसातामा १ लाख राजस्व संकलन

फाइल तस्बिर ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाउनेबाट १ लाख राजस्व संकलन गरेको छ । कार्यालयले दुईसातामा १ हजार ५९ जनालाई कारबाही गरी १ लाख ५ हजार ९ सय राजस्व संकलन गरेको हो ।

गृह मन्त्रालयको असार २२ गते आएको निर्देशनअनुसार कार्यालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई १ सय रुपैयाँ जरिवाना तिराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिने तयारीसमेत प्रशासनको छ ।

अन्य जिल्लामा भन्दा सुर्खेतमा कडाई गरेको भन्दै पौडेलले नागरिकहरु अटेरी गर्ने प्रवृत्ति भने बढेको जानकारी दिए । त्यस्तै कार्यालयले मास्क नलगाई बाहिर निस्केका १ हजार ६३ जनालाई सम्झाई-बुझाई गरेर पठाइएको पौडेलले बताए ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन अवधिभर लकडाउनको उल्लंघन गर्ने ५ सय ८३ जनालाई कारबाही गरेको छ । जसबाट ५ लाख ८९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ । मोटरसाईकल, टेम्पो, र जिप चालकहरुले लकडाउनको उल्लंघन गरी उक्त राजस्व तिरेका हुन् ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु