गृहपृष्ठ मालपोत कार्यालयमा कोरोनालाई चुनौती !

मालपोत कार्यालयमा कोरोनालाई चुनौती !

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको भिडले एकातिर कोरोनालाई चुनौती दिइरहेको छ भने अर्कोतिर मालपोतका कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई झन् सताएको छ । कोरोना महामारीका कारण सुदूरपश्चिममा ५० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोना कहरकैबीच भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले दैनिक कामकाज सुुरु गरेको थियो । कोरोनाको वास्ता नै नगरी हुने भिड नियन्त्रण गर्न कार्यालयले टोकन प्रणाली पनि लागू गरेको थियो । त्यससँगै स्थानीय तहअन्तर्गत पनि कार्यालयले काम गरिरहेको थियो । तर त्यो प्रणाली पनि प्रभावकारी नभएपछि फेरि पुरानै तरिकाले काम भइरहेको छ । अहिले मालपोत कार्यालय कैलालीमा पुग्दा कोरोना महामारीको कुनै आभास हुँदैन । धेरै सेवाग्राही मास्कबिनै देखिन्छन् ।

धनगढी उपमहानगरपालिका- १३ का राजेन्द्र कुँवर जग्गा पास गर्न मंगलबार बिहानैदेखि मालपोत कार्यालय कैलालीमा लाइन लागेका थिए । लाइन नलागी कामै नहुने भएकाले कोरोनाको त्रास भए पनि भिडभाडमै लाइन लाग्नु परेको उनले बताए । ‘पालैपालो सबैको काम गरे यस्तो अवस्था आउने थिएन,’ उनले भने । मिलोमतोमा काम हुने हुँदा टोकन प्रणालीसमेत कार्यालयले बन्द गरेको उनले आरोप लगाए ।

लेखापढी व्यवसायी तथा कर्मचारीहरुकै मिलोमतोमा भित्रभित्रै काम भइरहे पनि बाहिर लाइनमा लाग्नेहरुको ३ दिनसम्म पनि काम नभएको कुँवर बताउँछन् । ‘हामीलाई भित्र जान दिँदैनन् । बाहिरबाट जति कराए पनि कसैले सुन्दैन । भित्रभित्रै काम गर्छन् । अनि भिडभाड र कोचाकोच त हुने नै भयो,’ उनले भने । भिड व्यवस्थापन गर्नमा मालपोतका कर्मचारी नै चुकेको कुँवरको भनाइ छ ।

सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भए पनि असवाधानीका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । महामारीकै बिच मालपोतमा भिड बढिरहँदा व्यवस्थापनमा पनि कार्यालयले कमजोरी गरेको सेवाग्राहीले गुनासो गरेका छन् । सुरक्षा मापदण्डमा कार्यालयको ध्यान नगए पनि समयमै काम गर्ने तर्फ पनि कर्मचारीले ध्यान नदिएको उनीहरुको गुनासो छ । मालपोत कार्यालयका कर्मचारीले पहुँच र पैसा लिएर काम गर्दा सर्वसाधारण सेवाग्राहीले झञ्झट व्यहोर्नु परेको गुनासो छ ।

धनगढीकै हरिश भट्ट आधा कठ्ठा जमिन पास गर्न ३ दिनदेखि मालपोत कार्यालय कैलालीको लाइनमा थिए । ‘कर्मचारीहरुलाई चाँडो गरिदिनुस् भनेर अनुरोध गर्नसमेत मिल्दैन । पहुँचवाला र पैसा खुवाउनसक्ने भित्र गएर आनन्दले काम गराउँछन्,’ उनले भने, ‘हामीजस्ता पहुँच नभएकाले ३/३ दिन लाइनमै बस्नुपर्छ । कर्मचारीहरुलाई काममा ढिलासुस्ती भयो भन्दा उल्टै थर्काउँछन् । कोही कुरै सुन्दैनन् ।’ कर्मचारीहरु नास्ता खानसमेत एक घण्टा लगाउने गरेको भट्टले गुनासो सुनाए ।

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका कर्मचारीहरु काममा जिम्मेवार बन्नुभन्दा पनि उल्टै रुखो व्यवहार गर्ने गरेको सेवाग्राहीहरु गुनासो गर्छन् । कार्यालय प्रमुख सुरेन्द्र केसीले मिडियाले उठाउने गरेका विषयमाथि नै आक्रोस पोखे । कर्मचारीले आफ्नो काम गरिरहे पनि भिडभाड कमी गर्न नसकेको बताए । मालपोत कार्यालयले सम्पूर्ण सुरक्षा उपाय अपनाउने कोसिस गरे पनि सेवाग्राहीकै कारण मापदण्ड अपनाउन नसकिएको केसीको भनाइ छ ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवाजस्ता कामका लागि सेवाग्राही आउने गरेका छन् । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ । कोरोना महामारीको संक्रमण बढिरहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने जोखिम बढेको छ ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु