गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता

बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।

अपाङ्गता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेका हुन्गर । अपाङ्गता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

अपाङ्गता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुसी लागेको हीराका बुबा पूर्ण बोहराले बताए । ‘जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आशा गरेका छौँ,’उनले भने, ‘नागरिकताको प्रमाणपत्र पाएपछि खुसी छु ।’

यसैबीच पूर्णबहादुर बोहराका अपाङ्गता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडी, दशरथचन्द नगरपालिका–२ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराले बताए । ‘हीरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएका छौँ ।’ करिश्मालाई कक्षा १० को र हीरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ ।

संविधानमै शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । यसअघि प्रमुख अवस्थीले पुस १ गते अपाङ्गता भएका बालबालिकालाई उनीहरुको घरमै पुगेर रु १० हजार नगद रकम हस्तान्तरण गरेका थिए । अपाङ्गता भएका बालबालिकालाई अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले पनि गत मङ्सिर ६ गते आफ्नो जन्मदिनको खर्च कटाएर नगदसहित लत्ताकपडा सहयोग गरेका थिए ।

पूर्णबहादुर बोहराका चारमध्ये तीन छोराछोरी अपाङ्गता भएका छन् । बोहराका २२ वर्षीया छोरी हीरा, १५ वर्षीया करिश्मा, १० वर्षीय जयन्त बोहरा अपाङ्गता रहेका छन् । (रासस)

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु