गृहपृष्ठ राहत वितरणमा एकद्वारा प्रणाली
राहत वितरणमा एकद्वारा प्रणाली
राहत वितरण अव्यवस्थित भएपछि जिल्ला प्रशासन कार्यालय बाराले एकद्वारा प्रणाली लागू गरेको छ । जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको गुनासो आएपछि राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको जिप्रकाले जनाएको छ ।
हावाहुरी प्रभावितलाई विभिन्न संघसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न ठाउँमा दाता तथा संघसंस्थाहरुले आफूखुसी राहत वितरण गर्दा वास्तविक प्रभावित परिवारले राहत नपाएर अन्य व्यक्तिहरुले राहत पाउने गरेको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्यमा कडाइ गर्दै सो एकद्वार प्रणाली लागू गरेको सूचना अधिकारी मुरारी कार्कीले बताए ।
जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि कुनै पनि व्यक्ति वा संघसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वय विना राहत वितरण गर्न नपाइने, हावाहुरी प्रभावित गाउँमा प्रवेश गर्ने बाटोमा राखिएको हेल्थ डेक्सको सिफारिस हुनुपर्ने जस्ता व्यवस्था गरेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको तथ्याङ्कअनुसार हावाहुरी प्रभावित क्षेत्रमा ९ सय ४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ९ सय ५५ घर आंशिक रुपमा क्षति भएको र मृतकहरुको संख्या २७ पुगेको छ ।
हावाहुरीले फेटा गाउँपालिका–१ भरवलीयामा १ सय ३० घर पूर्ण रुपमा क्षति भएको छ भने ६० घर आंशिक रुपमा क्षति भएको छ । त्यहाँ छ जनाको मृत्यु भएको थियो । यसैगरी पुरैनियामा ५५ घर पूर्ण रुपमा क्षति भएको छ भने २५ घर आंशिक रुपमा क्षति भएको छ ।
त्यहाँ १२ जनाको मृत्यु भएको थियो । यसैगरी फेटा ७ गम्हरियामा नौ घर पूर्ण रुपमा तथा छ घर आंशिक रुपमा क्षति भएको छ ।
यसैगरी, सुवर्ण गाउँपालिका–१ बगही र चारमोहनामा ६२ घर पूर्ण रुपमा क्षति भएको छ भने १९ घर आंशिक रुपमा क्षति भएको छ । वडा नं. ४ हर्दियामा ९४ घर पूर्ण रुपमा क्षति भएको छ भने १ सय ७६ घर आंशिक रुपमा क्षति भएको छ ।
यस्तै, वडा नं. ५ औरहियामा ३९ घर पूर्ण तथा २७ घर आंशिक रुपमा क्षति भएको छ । वडा नं. ८ परशुरामपुरमा ७५ घर पूर्ण रुपमा तथा ४५ घर आंशिक रुपमा क्षति भएको प्रशासनले जनाएको छ ।
प्रकाशित समय १२:२३ बजे

















