गृहपृष्ठ बालबालिकामा सिसाजन्य पदार्थको असर बढी
बालबालिकामा सिसाजन्य पदार्थको असर बढी
बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ । बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा यस्ता चिजले बढी असर पार्ने गरेको विज्ञहरू बताउँछन् ।
मोबाइलको ब्याट्री, रङ उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ । यसको असरलाई थप बढवा दिन उद्योग र कलकारखानाबाट निस्कने धुँवा, मलखाद र विषादी थप मद्दत गर्ने विज्ञहरूले बताएका छन् ।
त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा इन्स्टिच्यूटका कोषाध्यक्ष डा. ज्योति गिरीले विभिन्न प्रकारका रङ् र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने प्रदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने बताउँछन् ।
‘यस्ता वस्तुले साना बालबालिकको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउँछ,’ उनले भने । जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने गिरीको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र (रिकाष्ट) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआइ)को सहआयोजनामा भएको ‘सिसाजन्य तथा टल्कने पदार्थले स्वास्थ्य र वातावरणमा पारेको असर’ विषयक कार्यक्रममा यो जानकारी दिइएको हो ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सिइपिएचइडी) का कार्यकारी निर्देशक रामचरित शाहले अन्य वस्तुको तुलनामा घरमा लिपिने रङमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुने जानकारी दिए ।
‘नेपाली बजारमा अधिक मात्रामा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ अहिले पनि उतिकै उत्पादन भइरहेका छन् । यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्ने देखिन्छ, उनले भने ।
ती रङ उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानवीय जीवनका साथै वातावरणमा पर्ने असर समेत घट्ने शाहले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद आर्यालले मुलुकमा मोबाइल प्रयोगकर्ता बढिरहेको अवस्थालाई उजागर गर्दै यसमा प्रयोग हुने सिसाजन्य प्रदार्थलाई ध्यानमा राखी आवश्यक र सही तवरले मात्र मोबाइल प्रयोग गर्न सुझाव दिए।
नेपाल केमिकल सोसाइटीका महासचिव डा.भानुभक्त न्यौपानेले मानिसले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य पदार्थको प्रयोग कति हुनुपर्छ र कति भइरहेको छ भनेर अध्ययन तथा अनुसन्धान गर्न जरुरी रहेको औंल्याए ।
डोको रिसाइकल नामक संस्थाका प्रतिनिधि पंकज पञ्जियारले नेपालमा काम नलाग्ने ब्याट्री व्यवस्थापनमा समस्या रहेको बताए। ‘नेपाली माटोमा एसिड पनि उतिकै पोखिने गरेको हुँदा यसतर्फ पनि कडा नियम बन्न जरुरी छ, ‘ उनले भने ।
मुलकका करोडौँ बालबालिकालाई सिसाजन्य पदार्थको जोखिमबाट बचाउने दरो नीति नियम खाँचो रहेको पञ्जियारले औंल्याए ।
रिकाष्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारीले सिसाजन्य पदार्थको जोखिमबाट मानव र वातावरण दुवैलाई बचाउन रिसाइक्लिङ प्लान्ट र उचित पूर्वाधार व्यवस्था गर्न जरुरी रहेको सुझाव दिए ।
पूर्वविज्ञान मन्त्री गणेश शाहले यस्ता वस्तुको असरबाट जोगिनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उचित नियम बनाउनुपर्ने बताए ।
नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ती चिजले मानवको दिमागमा समेत असर गर्न नछाड्ने भएकाले यसको प्रदुषण हटाउन विज्ञको सहयोग, सुझाव र सल्लाहका साथसाथै नाष्ट अघि बढ्न चाहेको प्रष्ट पारे ।
अन्य वक्ताले नेपालको पानीमा हालसम्म सिसाजन्य पदार्थ नभेटिएको र रङमा बढी मात्रामा सिसाजन्य पदार्थ भेटिएको हुँदा यसतर्फ सरकारले मापदण्ड तोकेर मात्र उत्पादन र बजार व्यवस्थापन गर्न दिनुपर्नेमा जोड दिए । (रासस)
प्रकाशित समय १७:३५ बजे

















