गृहपृष्ठ लक्ष्मी नेपालीको हत्यारा नपक्रेकोमा परिवारकाे गुनासो

लक्ष्मी नेपालीको हत्यारा नपक्रेकोमा परिवारकाे गुनासो

laxmi-newskarobar लक्ष्मी नेपाली

धादिङ त्रिपुरासुन्दरीकी १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या गर्ने हत्याराको बारेमा किटानी जोहेरी दिँदासमेत प्रहरीले अपराधीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । राजधानी काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कानुन अनुसार कडा कारबाही गर्नसमेत माग गरेका छन् ।

भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको मृतक लक्ष्मीका आमाबाबुको आरोप छ । छोरीको हत्यामा संलग्न भएको दावी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुबा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोखे । गृहमन्त्री रामबहादुर थापालाई भेटेर न्याय दिन आग्रह गरे पनि प्रहरी प्रशासन मौन बसेको उनले बताए ।

उनले भने, ‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु । विगत लामो समयदेखि छोरीसँग कुरा गर्ने र विदेशमा बस्ने खोटाङका अनिल परियारको नाममा मैले जाहेरी दिएको छु । प्रहरी प्रसाशनले अनुसन्धान भइरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन ।’

त्यस्तै महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । उनले भनिन्, ‘सरकार महिलाको सुरक्षाको बारेमा गम्भीर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन । प्रहरी प्रशासनले तदारुकताका साथ काम गर्न सकेन ।’

परिवारले दिएको जानकारी अनुसार मृत्तक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहीन भएकी थिइन् । मृत्तककी बुवा तुलामानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भदौ ७ गतेबाट सम्पर्कविहीन भएकी छोरी भदौ १५ गतेका दिन काठमाडौं वडा नम्बर ३ स्थित बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत अवस्थामा भेटिइन् ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘तत्पश्चात् मृतकको शव पोष्टमार्टम गरियो भने अनुसन्धानको लागि थप सहयोग हुने भनी महानगरीय प्रहरी बृत्त महाराजगंजले आग्रह गरेको हुँदा पोष्टमार्टमको लागि म पीडित पक्ष निवेदकले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरें । तर, प्रहरी अनुसन्धानको लागि आफ्नो स्थानबाट सक्ने सबै किसिमको सहयोग गर्दासमेत आज मिति २०७५ साल भदौ २६ गतेसम्म पनि अपराधी सार्वजनिक हुन नसक्नुले अत्यन्तै दुःखित भएको छु । यस दुःखद् घटनाको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरी कानुनी राज्यको प्रत्याभुति गराउन सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकार्षणको लागि तपाईं पत्रकार मित्रहरुसमक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु