गृहपृष्ठ खड्ग जात्रा विधिपूर्वक सम्पन्न
खड्ग जात्रा विधिपूर्वक सम्पन्न
पाटनको ऐतिहासिक पायोँ अर्थात् खड्ग जात्रा विधिपूर्वक सम्पन्न भएको छ । झाँकीसहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई सोमबार विधिपूर्वक सबैभन्दा पुरानो जात्रा सम्पन्न गरिएको हो । मुल गुठीयार साम्राराज्य श्रेष्ठको नेतृत्वमा झाँकी तथा बाजा गाजासहित मनमानेश्वरी भवानीलाई नगर परिक्रमासँगै आगम घर पुर्याई विराजमान गराईएको थियो । यो सँगै जात्रा विधिवतरुमा सम्पन्न भएको छ । घटस्थापनादेखि सुरु भएपनि यो जात्राको मुख्य विधि पुलपातीका दिन गरिन्छ । पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रुपमा लिईने खड्गलाई अष्टमीका दिन मध्यरातमा पुजा गरि नवमीका दिन महालक्ष्मी स्थान पुर्याईन्छ । विभिन्न प्रक्रिया पूरा गरी टीका पछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ ।
लिच्छिविकालीन राजा मानदेवको नाति बसन्तदेवबाट सुरु गरिएको यो जात्रा बजेट अभावका कारण २५ बर्ष देखि हुन सकेको थिएन । ललितपुर महानगरपालिका, गुठी संस्थान, ललितपुर उद्योगवाणिज्य संघ लगायत क्षेत्रबाट सहयोग प्राप्त भएपछि २६ औ बर्षमा खड्ग जात्रा निकालिएको हो । मंगल टोलसुधार समितिका अध्यक्ष किरणमान प्रधानले जात्रा गर्न पाउँदा टोलबासीमा हर्षोल्लास छाएको र दसैं आएकोजस्तो महसुस भएको भन्दै खुसी व्यक्त गरे ।
प्रकाशित समय १९:२३ बजे

















