गृहपृष्ठ यौनिक अल्पसंख्यक भन्छन्- हामीलाई माया चाहियो

यौनिक अल्पसंख्यक भन्छन्- हामीलाई माया चाहियो

'माया गर्ने र माया पाउँने अधिकारबाट नीति निर्माताहरुले रोक्न सक्दैनन्'

yonik-alpasankhyak-newskarobar

सिम्रन शेरचन आफूलाई समलिङ्गी महिला भन्न रुचाउँछिन् । तर समाज र राज्यले आफूहरुलाई माया नगरेको र मायाँ गर्ने अधिकार समेत नदिएको उनको गुनासो छ ।

सोमबार यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ काठमाडौंले विरेन्द्रनगरमा आयोजना गरेको स्थानीय सरकारसँग समन्वय बैठकमा सिम्रनले आफूहरुको माया गर्ने र माया पाउँने अधिकारबाट नीति निर्माताहरुले रोक्न नसक्ने बताइन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघमा राष्ट्रिय कार्यक्रम संयोजक समेत रहेकी सिम्रनले नीति निर्माण तहमा स्थानीय तहका प्रतिनिधिहरुले यौन अल्पसंख्यकमा परेकाहरुका लागिसमेत नीति बनाइदिन आग्रह गरिन् ।

त्यस्तै आफूलाई समलिंगी ‘गे’ भन्न रुचाउने अनुज पिटरले संविधानले दिएको अधिकार समेत प्रयोग गर्न अप्ठ्यारो भएको गुनासो गरे । ‘समाजले आफूहरुलाई नकारात्मक दृष्टिले हेर्ने गर्दछ । त्यो मात्रै नभएर राज्यले समेत छुट्टै ग्रहबाट आएको जस्तो व्यवहार गर्दछ । जसले गर्दा आफूहरुजस्ता थुप्रै समलिंगीहरु आफ्नो वास्तविकता लुकाएर बस्नुपर्ने अवस्था आएको छ ।’

यौनिक अल्पसंख्यकमा परेकाहरुका लागिसमेत नीति निर्माण गर्ने वातावरणको सिर्जना गर्न लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा यौनिक अल्पसंख्यकमैत्री नीति निर्माणका लागि तयार रहेको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘हामी समलिङ्गिहरुका लागि ऐन बनाएर अगाडि बढ्न तयार छौं,’ उनले भनिन्, ‘अगाडि बनेका ऐनलाई संशोधन गरेर हुन्छ कि आगामी दिनमा बन्ने ऐनमा अल्पसंख्यकका कुरा समेटेर हुन्छ हामी यसमा प्रतिबद्ध छौं ।’

वडा स्तरबाटसमेत समलिंगीहरुले आफू खुलेर आए डाटा संकलनका लागि सहयोग हुने वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्ष मोतीप्रसाद कँडेलले बताए ।

त्यस्तै वीरेन्द्रनगर नगरपलिका १० का वडा अध्यक्ष रत्नबहादुर बुढाले यौनिक अल्पसंख्यकमैत्री नीति निर्माणका लागि आफू प्रतिवद्ध रहेको बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडाअध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित समय १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु