गृहपृष्ठ अखण्ड राष्ट्रको सहमति गरेका राउतलाई स्वतन्त्र मधेशको झन्डाद्वारा स्वागत

अखण्ड राष्ट्रको सहमति गरेका राउतलाई स्वतन्त्र मधेशको झन्डाद्वारा स्वागत

शुक्रबार सरकारसँग ११ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका डा. सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्याली निकालेको छ । मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका राउतको स्वागतमा उनका समर्थकहरुको सहभागीता थियो ।

अखण्ड राष्ट्रको पक्षमा लाग्ने सहमति गरेर जनकपुर पुगेका राउतको स्वागतमा कार्यकर्ताले स्वतन्त्र मधेसको झण्डा प्रयोग गरेका थिए ।

सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग गरिएपछि राउतको नियतमाथि आशंका गरिएको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौताको बुँदा नम्बर ६ मा झण्डासहित पर्चा, पम्पलेट, किताब उत्पादन तथा बितरण नगरिने उल्लेख गरिए पनि राउतलाई विमानस्थलमा स्वागत गर्न गएका कार्यकर्ताहरुले ‘फ्री मधेस’ को झण्डा बोकेका थिए ।

राउतको सुरक्षाका लागि भन्दै स्वतन्त्र मधेश संगठन नाम दिइएको सुरक्षा गार्ड समेत प्रयोग गरिएपछि सरकारसँगको सहमतिलाई जेलबाट निस्कने चालबाजीको रुपमा धेरैले संज्ञा दिएका छन् ।

उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका थिए । उनीहरुले सिके राउतसँग प्रतिक्रिया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु