गृहपृष्ठ दर्ता हतियारबारे सोधखोज गर्दै प्रशासन

दर्ता हतियारबारे सोधखोज गर्दै प्रशासन

बाँकेस्थित सुरक्षा निकायले अवैध हतियारबारे सोधखोज गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले हतियार राख्न इजाजत लिएका व्यक्तिसँग सोधखोज गर्दै पटकपटक नवीरकणका लागि सूचना जारी गर्दै आएको छ ।

बाँकेमा हालसम्म दर्ता भएका विभिन्न किसिमका हतियारमध्ये ६०३ नवीकरण भएका छन् । अझै १९५ थान नवीकरण हुन बाँकी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । इजाजत लिएकामध्ये १९५ थान हतियार कहाँ र कुन अवस्थामा छन् भन्नेबारे सोधखोज भइरहेको उनले बताए ।

यही चैत १ गतेदेखि ३५ दिनभित्र अवैधरूपमा हतियार बुझाउन अपिल गर्दै प्रशासनले समयभित्र बुझाउनेलाई कुनै कारवाही नहुने स्पष्ट पारेको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराइ वा इजाजतप्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले मुलुकभर कोही कसैले हतियार वा खरखजाना राखेको भए तोकिएको समयमा बुझाउन प्रशासनले आग्रह गरेको छ ।

आफूसँग भएको हतियार नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा बुझाउन सकिने प्रशासनले जनाएको छ । इजाजतसहितका हतियारबारे सम्बन्धित व्यक्तिलाई सूचित गरेर सोधखोज भइरहेको प्रजिअ भुजेलले बताए । बाँकेमा दर्ता भएका हतियार बाहिरी जिल्लाबाट पनि नवीकरण गर्न सकिने भएकाले यहाँबाट नवीकरण नभएको हुनसक्ने उनको भनाइ छ ।

हातहतियार र खरखजाना बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेका कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै किसिमको कारवाही नगरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । तोकिएको समयमा पनि नवीकरण नगरेर अवैध हातहतियार राखेको पाइएमा कानूनबमोजिम कारवाही हुने प्रशासनले स्पष्ट पारेको छ ।

खुला सीमासँग जोडिएको बाँकेमा सुरक्षाका लागि भन्दै सामान्य भरुवादेखि आधुनिक किसिमका बन्दुकसम्म दर्ता छन् । नियमानुसार हतियार राख्नेले आर्थिक वर्ष सकिएको ३५ दिनभित्रमा हतियारको नवीकरण गराउनुपर्छ ।(रासस)

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु