गृहपृष्ठ एसईई परीक्षा नसकिएसम्म शिक्षाका कर्मचारी पूर्ववत् जिम्मेवारीमै
एसईई परीक्षा नसकिएसम्म शिक्षाका कर्मचारी पूर्ववत् जिम्मेवारीमै
सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश र स्थानीय तहमा कार्यरत शिक्षा सेवाका त्यस्ता कर्मचारीलाई परीक्षा समाप्त भएपछि मात्रै समायोजन भएको कार्यालयमा जान निर्देशन दिएको हो । परीक्षाका लागि जिल्ला समन्वय समितिको सदस्यसचिवका रूपमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रहने भएकाले साविक बमोजिम कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ ।
यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म देशभर एकसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । यसमा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला विद्यार्थी छन् ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार परीक्षाका लागि एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् । अनिवार्य विषयका प्रश्नपत्रहरु सातै प्रदेशबाट सोधिनेछ ।
विद्यालय शिक्षामा ‘अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारीपछि अक्षराङ्कन पद्धतिमा हुँदै आएको छ ।(रासस)
प्रकाशित समय १०:२६ बजे

















