गृहपृष्ठ नेपाल–जापान श्रम सम्झौता आज

नेपाल–जापान श्रम सम्झौता आज

जापानले नेपाली कामदार लैजानेबारे एमओसीमा आज दुई मुलुकबीच सम्झौता हुँदै छ । दुई देशबीच आज काठमाडौंमा श्रम समझदारी हुन लागेको हो ।

सम्झौतालाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले अब ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजानेछ । आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने जापानको निर्णयअनुसार यो सम्झौता हुन लागेको हो । निमित्त श्रमसचिव र नेपालका लागि जापानी राजदूतले समझदारीपत्रमा हस्ताक्षर गर्ने बताइएको छ ।

अब दुई देशका सरकारको समन्वयमा कामदार भर्ना पक्रिया थालिनेछ । कामदार सरकारी संयन्त्रबाटै पठाइने भएपछि अब म्यानपावर कम्पनीको आवश्यकता पनि पर्दैन । तेस्रो पक्षको संलग्नता हुँदा कामदार ठगिने सम्भावना भएकाले यो प्रावधान राखिएको श्रम मन्त्रालयले जनाएको छ ।

अब श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत एक शाखा स्थापना गर्नेछ । सोही शाखाले जापानी मागअनुसार कामदार पठाउन सहजीकरण गर्नेछ । यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने व्यवस्था मिलाइएको छ ।

जापानले ५ वर्षभित्र तीन लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने नीति बनाएको छ । जापानी भाषा परीक्षा (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति जापान जान योग्य हुनेछ ।

भिसा प्रक्रिया र टिकटको खर्च रोजगारदाताकै जिम्मेवारीभित्र राखिनुपर्ने अडान नेपाली पक्षले लिइरहेको छ । यसो हुन सकेमा न्यूनतम् खर्चमा कामका लागि जापान जान सकिनेछ ।

प्रकाशित समय ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु