गृहपृष्ठ मेलम्ची आयोजनालाई लिएर आफ्नो चरित्र हत्या गर्न खोजिएको मन्त्री मगरको आरोप

मेलम्ची आयोजनालाई लिएर आफ्नो चरित्र हत्या गर्न खोजिएको मन्त्री मगरको आरोप

bina-magar-newskarobar

खानेपानी मन्त्री बिना मगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले आफ्नाविरुद्ध मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर गरेको उजुरीमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै नेपाल विवेकशील दलले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो ।

खानेपानी मन्त्रीले विज्ञप्ति जारी गरी आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दर्ता गरिएको बताएकी छन् ।
आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरेकी छन् । आफ्नो कार्यकालमै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भए पनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले हात झिक्दा समस्या आएको मन्त्रीको प्रष्टोक्ति छ ।
ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा परेकाले आयोजनामा अबरोध भएको जानकारीमा आएको भन्दै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने भएकाले त्यसविपरित गएर मन्त्री वा कुनै अधिकारीले निर्णय गर्ने अवस्था नभएको मन्त्री मगरको दावी छ ।
उनले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकार सम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने बताएकी छन् ।
आयोजनाको कुनै प्रस्ताव मन्त्रीपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उनले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको उल्लेख गरेकी छन् ।
‘मेलम्ची आयोजनामा मैले अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु, मन्त्री मगरले भनिन्, अनियमितता प्रमाणित नभएन मेरो चरित्रहत्या गरेको जिम्मेवारी रञ्जु दर्शनाले लिनुहुन्छ ?’
विवेकशिल दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएको हो । विवेकशील दलले आयोजनामा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो ।

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु