गृहपृष्ठ यो सिजनमा ६५ आरोही सगरमाथाको चुचुरोमा
यो सिजनमा ६५ आरोही सगरमाथाको चुचुरोमा
वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मंगलबारदेखि सुरु भएको हो । मंगलबार रोप फिक्सिङ गर्ने आठ गाइडको टोली पहिलोपटक चुचुरोमा पुगेका थिए ।
बिहीबार मात्रै २८ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजंगा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।
पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् ।
बंगालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने संकेत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
अहिले आधार शिविरदेखि क्याम्प चारसम्म मानिसको चहलपहल बढेको छ । हिमाल आरोहणलाई साहसिक कार्यको रुपमा लिइन्छ । साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन् ।
सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण सुरु भएको हो । विभिन्न उद्देश्यसहित आरोहणमा जाने आरोहीबाट नेपाल सरकारले यो वर्ष ४० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।(रासस)
प्रकाशित समय १०:२० बजे

















