गृहपृष्ठ स्याङ्जामा अवैध घरेलु मदिरा नष्ट
स्याङ्जामा अवैध घरेलु मदिरा नष्ट
प्रहरीले स्याङ्जामा एक साताको अवधिमा ठूलो मात्रामा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत त्यस्ता मदिरा बरामद गरी नष्ट गर्ने त्रममा ९ सय २ लिटर तयारी मदिरा र एक हजार थान कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।
प्रहरीले शुक्रबार पुतलीबजार नगरपालिकाका विभिन्न स्थानबाट १ सय ६० लिटर तयारी मदिरा कच्चा पदार्थ नियन्त्रणमा लिनाका साथै पुतलीबजार नगरपालिकाको वीरेन्द्रनगर, राङखोला र कुमालगाउँबाट घरेलु मदिरा तथा मदिरा बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो ।
यसैगरी बिहीबार वालिङ ७ केवरेबाट २७ लिटर तयारी मदिरा, बिहीबार नै फेदिखोलाबाट १ सय ५० लिटर तयारी मदिरा र गत आइतबार पनि चापाकोट नगरपालिकाका विभिन्न स्थानबाट ५ सय ६५ लिटर तयारी मदिराका साथै त्यसमा प्रयोगहुने कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानीय समाजसेवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरेको प्रवक्ता भण्डारीले बताए ।
घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको प्रवक्ता भण्डारीले बताए ।(रासस)
प्रकाशित समय ११:४५ बजे

















