गृहपृष्ठ विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

बागलुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाइमा स्थानीय तहले योजना बनाएका हुन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् ।

स्थानीय तहमै विपद् विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको संख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । योजनाले उद्धारकर्ताको क्षमता विकास गर्ने उद्देश्यसमेत राखेको सोसाइटीको बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताए । चारवटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्धार कार्यदलसमेत बनाइएको छ ।

हरेक वडामा ११ देखि १७ जनासम्मको व्यवस्थापन समिति र उद्धार कार्यदल बनाएर आवश्यक सामग्री पनि वितरण गरिएको छ । ‘ती समूह र कार्यदलले प्रारम्भिक रूपमा काम पनि गरिरहेका छन्,’ कोइरालाले भने, ‘सबै स्थानीय तहको समन्वयमा सबै वडामा यस्ता कार्यदल र उद्धार समितिहरू बनाउने तयारी छ ।’

कार्यदल र समितिमा रहेका सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालिम र सामग्री दिने बताइएको छ । योजना बनेका गाउँ तथा नगरपरिषदले विपद् व्यवस्थापन ऐन बनाएर कार्यान्वयनमा ल्याएका छन् । गोर्खा भूकम्पपछि सरकारले विधेयकमार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो ।

गत वर्ष ऐनसमेत आएकाले अब हरेक वडा तहमै कार्यदल बन्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । योजनामा घटना घटेको पहिलो एकदेखि २४ घण्टासम्म घटनास्थल पुगेर गरिने खोजी र उद्धारदेखि एक महिनासम्ममा पुनःस्थापना, राहत तथा अन्य व्यवस्थापनसहितका काम समावेश छन् । (रासस)

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु