गृहपृष्ठ ६ वटा पोल ढलेपछि दैलेखमा ३ दिनदेखि विद्युत आपूर्ति बन्द

६ वटा पोल ढलेपछि दैलेखमा ३ दिनदेखि विद्युत आपूर्ति बन्द

दैलेखमा ३ दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो ।

विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोरेका छन्। सुर्खेतको गरगरेमा ६ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताए । उनले ढलेको पोल बनाइसकेको, रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेखतर्फको विद्युत लाइन मर्मत गरिरहेको बताए ।

विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन् भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ ।

त्यसैगरी, दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिकरूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ ।

घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । घण्टैपिच्छे झ्याप्प–झ्याप्प जाने विद्युत सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायत प्रभावित बनेका छन् । (रासस)

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु