गृहपृष्ठ प्रदेश ३ कै ६० प्रतिशत अपांग बालबालिका विद्यालय जाँदैनन्

प्रदेश ३ कै ६० प्रतिशत अपांग बालबालिका विद्यालय जाँदैनन्

प्रदेश नं ३ मा अपांगता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपांग महासंघका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपांगता भएका व्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासंघको तथ्यांकमा उल्लेख छ । साथै अपांगता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन् ।

पारिवारिक, आर्थिक एवं सामाजिक समस्याले गर्दा उनीहरू विद्यालय नगएको बताइएको छ । सरकारीस्तरबाट उपलब्ध हुने सेवाहरू नारामा मात्र सीमित रहेको र विभिन्न किसिमका भेदभावका कारण अपांग बालबालिका शिक्षाबाट वञ्चित भएका हुन् । राष्ट्रिय अपांग महासंघद्वारा प्रदेशस्तरीय विभिन्न मन्त्रालय सरकारी तथा गैरसरकारी संघसंस्था एवं सरोकारवालाहरूसँग आइतबार गरिएको समन्वय बैठकमा सो जानकारी दिइएको हो ।

राज्यले कुनै पनि नीति तथा कार्यविधिमा अपांगता भएका व्यक्ति एवं संस्थालाई नसमेटेको र औपचारिकतामा मात्र सीमित राखेको सरोकारवालाहरूले गुनासो गरेका छन् । अपांगता भएका व्यक्तिलाई परिचयपत्र शिक्षा रोजगारी र सीपमूलक तालिम दिनुपर्नेलगायत विषयमा पनि यहाँ आयोजित एक छलफलमा जोड दिइएको थियो ।

महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राईले अपांगता भएका व्यक्तिलाई राज्यले भेदभाव नगरेको स्पष्ट पारे । अपांग महासंघ प्रदेश नं ३ का अध्यक्ष अस्मिन लम्सालले राजनीतिक रूपमा प्रतिबद्धता नभएसम्म अपांगको हकहितको सुरक्षा नहुने बताए ।

त्यसैगरी अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले घर नै अपांगमैत्री हुनुपर्ने बताए । उनले राज्य तथा स्थानीय निकायले निर्माण गर्ने विकासका पूर्वाधारदेखि विद्यालयसम्म अपांगमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले अपांग बालबालिकाजस्तै अपांग बालबालिकाका लागि पनि खेल्ने र घुम्ने स्थान महत्वपूर्ण हुने भएकाले बाल उद्यानहरू पनि अपांगता भएका बालबालिकाले समेत खेल्न पाउने हुनुपर्नेमा जोड दिए । (रासस)

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु