गृहपृष्ठ आयोजना अनुगमनमा प्रदेश सांसद, समयमै काम सक्न निर्देशन

आयोजना अनुगमनमा प्रदेश सांसद, समयमै काम सक्न निर्देशन

anugaman-newskarobar

प्रदेश ३ का सांसद विकास आयोजनाको अनुगनममा सक्रिय ढंगले लागेका छन् । प्रदेश ३ को अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिका संयोजक नारायण सिलवालको नेतृत्वमा निस्किएको सांसदहरुको टोलीले प्रदेश ३ का धादिङ, नुवाकोट र रसुवामा सञ्चालित आयोजनाको अनुगमन गरेको छ ।

समितिले प्रदेशमातहत सञ्चालित विकास आयोजनामा भएको प्रगति विवरण संकलन गरेको छ । समितिले सोमबार धादिङबेँसीमा २ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माणाधीन धोपल खोला पुल, २८ करोड लगानीमा निर्माण भइरहेको चीन जोड्ने धादिङबेँसी–चिन्ताङफेदी सडक र धादिङ नीलकण्डा–१३, स्थाली मानिडाँडादेखि भोले बेलगौडा ढोलखोलासम्मको सडक अनुगमन गरेको छ । विगतमा केन्द्र सरकारमातहत रहेको धादिङबेँसी–चिन्ताङफेदी आयोजना मंसिरदेखि प्रदेश सरकारको जिम्मामा आएको हो ।

त्यस्तै, टोलीले मंगलबार नुवाकोटमा सञ्चालित विकास आयोजनाको अनुगमन गरेको छ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा ५५ लाख रुपैयाँ लागतमा निर्माणाधीन क्रियापुत्री भवन, देवीघाटमै ३० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको सेवा आश्रमको भवनमा लिफ्ट, गौशाला र रेलिङ, संस्कृत माध्यमिक विद्यालय, अनन्तकालीन स्मृति खानेपानी सिँचाइ सेवालगायतको अनुगमन गरेको सांसद सिलवालका स्वकीय सचिव लक्ष्मण शर्माले जानकारी दिए । उनका अनुसार उपसमितिले पोष्टबहादुर बोगटी पार्क र लाइब्रेरी, जलस्रोत तथा सिँचाइ आयोजना र विदुर ४ मा सम्पन्न सहर निर्माण अभियानको पनि अनुगमन गरेको छ ।

anugaman-newskarobar

उपसमितिले बुधबार रसुवामा निर्माणाधीन आयोजनाहरुको अनुगमन गरेको छ । टोलीले महकरुणा गुम्बा (गोसाइकुण्ड), टासी गुम्बा, गोसाइकुण्ड–१ मा गेङ्रा खोलादेखि थुमनसम्मको सडक, धुन्चे खेल मैदानलगायतको अनुगमन गरेको हो । टोलीले आयोजनाको गुणस्तर कायम राख्दै समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएको छ ।

अनुगमन टोलीमा प्रदेश ३ का सांसदहरु अजयक्रान्ति शाक्य, बिजुला बर्मा, शोभा शाक्य, आशामाया तामाङ, प्रदेश ३ पूर्वाधार विकास कार्यालयका विजयमुनि बज्राचार्य, इन्जिनियरहरु दिपकराज भट्ट र राजेन्द्र भण्डारी तथा प्रदेश सभा सचिवालयबाट खटिएका शाखा अधिकृत त्रिपुरारी बख्रेललगायतको सहभागिता थियो ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु