गृहपृष्ठ सल्लेनामा उज्यालाका लागि सल्लाको झरो
सल्लेनामा उज्यालाका लागि सल्लाको झरो
बडिमालिका नगरपालिका–१ सल्लेनाका स्थानीय बिजुली बत्ती नहुँदा अझै सल्लोको झरो बाल्न बाध्य भएका छन् । सदरमुकाम मार्तडी आसपासका सबै क्षेत्रमा बिजुली बलेको दशक भइसक्यो तर सल्लेना अझै अँध्यारै रहेको शिक्षक नरबहादुर कार्कीले बताए ।
नेपाल सरकारको आव ०७१/७२ को नीति तथा कार्यक्रममा ‘उज्यालो नेपाल, समृद्ध नेपाल’ अभियान सुरु भएको पाँच वर्ष बितिसकेको छ । जिल्लामा २०४६ सालमा बाजुरा साना जलविद्युत् केन्द्र स्थापना भए पनि सदरमुकाम मार्तडी नजिकै रहेको सल्लेना गाउँका १०७ परिवार अझै झरो बाल्ने युगमै छन् ।
मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि सल्लेनावासीको घरमा भने अझै उज्यालो पुग्न कुन व्यवस्था कुर्नुपर्ने र आउनुपर्ने हो पत्तो छैन । ‘बेलाबेला स्थानीय प्रशासनसँग विद्युत् विस्तारका लागि पहल गर्दा पोल विस्तार गर्न ठेक्का पाएको ठेकेदारले पनि लाइन विस्तार पूरा नै नगरी भुक्तानी लिएको देखिन्छ । यो कस्तो व्यवस्था हो कामै नगरी भुक्तानी दिने,’ सल्लेनाका हर्क कार्कीले आक्रोश पोखे । ‘विभिन्न निकायसँग समय समयमा आग्रह गर्दा पनि माग सुनुवाइ नहुँदा जिल्ला प्रशासन कार्यालय पुग्न बाध्य भएका हौँ,’ आइतबार जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
नागरिकको शान्ति, सुरक्षा र आधारभूत आवश्यकताको अभिभावक प्रमुख जिल्ला अधिकारीमार्फत उज्यालो देख्ने सपना साकार हुने अपेक्षा गर्दै विश्व समुदाय अन्तरिक्षमा पुगिसक्दा पनि आफूहरूलाई छोराछोरी पढाउन र झरो बाल्ने युगबाट छुटकारा पाउन विद्युत् व्यवस्था गरिदिन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ ।
बडिमालिका नगरपालिका र नेपाल विद्युत् प्राधिकरण शाखा बाजुरालाई बोधार्थ रहेको ध्यानाकर्षण पत्रमा आश्वासनभन्दा पनि यथाशीघ्र सल्लेनावासीले बिजुली बाल्न पाउने अधिकारको सुनिश्चित गराउनुपर्ने माग गरिएको छ । तत्काल व्यवस्था नगरिए सल्लाको झरो बालेर गुजारा चलाइरहेका आफुहरु विद्रोहको ज्वाला (राँको) बनाउन नपरोस् भन्दै ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई बुझाइएको छ ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल समस्या समाधानका लागि बडिमालिका नगरपालिका र नेपाल विद्युत् प्राधिकरण शाखासँग पहल गर्ने आश्वासन दिएका छन् । ध्यानाकर्षण पत्र बुझाउन सल्लेनाका करिब ५० बढी स्थानीयवासीको सहभागिता रहेको थियो । (रासस)
प्रकाशित समय १४:५८ बजे

















