गृहपृष्ठ सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिस

सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिस

nyaya parisad

न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको हो ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद् ऐन २०७३ को दफा ११ को १ (च) मा भएको व्यवस्थाअनुसार सापकोटा, कार्की र सिंहलाई कारवाही गर्न बैठकले सिफारिस गरेको हो । यो दफामा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गरेको र दफा ११ (२) मा न्यायाधीशको आचारसंहिताको गम्भीर उल्लंघन गरेको हुँदा कारवाही किन नगर्ने भन्ने व्यवस्था छ ।

परिषद्ले यही प्रकारणमा अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, सारंगा सुवेदी र जनक पाण्डेलाई न्यायलयको मर्यादालाई श्रीवृद्धि गर्ने गरी प्रभावकारीरुपमा काम गर्न सेचत गराउने निर्णय गरेको छ ।

यही प्रकरणका न्यायाधीश नागेन्द्रलाभ कर्ण र उमेशराज पौडेलले अवकाश पाइसकेकाले तामेलीमा राख्ने निर्णय भएकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए । सुन तस्करी मुद्दामा छानबिनका लागि न्यायपरिषद्ले गएको चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो ।

उक्त समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो । त्यसैगरी परिषद्को बैठकले काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बाँनियालाई सचेत गराउनेसमेत निर्णय गरेको छ । (रासस)

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु