गृहपृष्ठ बिटमै प्रहरी छैनन्, सुरक्षामा चुनौती
बिटमै प्रहरी छैनन्, सुरक्षामा चुनौती
नेपालगन्जले दिनप्रतिदिन आफ्नो स्वरूप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरूप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमास्ट) जडान गरिएको छ ।
सहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौती पनि उत्तिकै थपिएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेरै नेपालगन्जका चोकचोकमा प्रहरी बिट रङरोगनसहित चिटिक्क पारेर राखिएका छन् । ती बिटमा प्रहरी भने छैनन् । स्थानीयवासीलाई भने सडकमा प्रहरीका गाडी दौडिएपछि सुरक्षा दिइरहेको महसुस हुन्छ ।
नेपालगन्जका कारकाँदो, न्युरोड, त्रिवेणी मोड, भेरी अञ्चल अस्पताल अगाडि, बाँकेगाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगन्जको सेतु विकचोकमा चिटिक्क परेको प्रहरी बिट छ तर त्यहाँ एक महिनायता प्रहरी छैनन् । चोकचोकका प्रहरी बिट खाली भएको कारण सुनाउँदै बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा भन्छन्, ‘धेरै प्रहरीको एकैपटक रमाना भएकाले केही बिटहरू खाली भएका छन् ।’
प्रवक्ता सापकोटाले अन्यत्र सरुवा भएका प्रहरीको एकैपटक रमाना दिँदा र जिल्लामा आउनेहरू आइनपुग्दा यस्तो अवस्था आएको बताए । नेपालगन्जलाई केन्द्र बनाएर सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुदका लागि भन्दै रमाना नदिएर राखिएका प्रहरीहरू एकैपटक रमाना बुझेर जाँदा धेरै जना बाहिरिएका छन् । त्यसो त जिल्लामा दरबन्दीअनुसारका प्रहरी पनि छैनन् । बाँकेमा ९ सय हाराहारी प्रहरी दरबन्दी छ ।
प्रहरीले संख्या नै खुलाउन नचाहे पनि जागिर छोड्ने प्रहरीको संख्या ठूलो छ । एक प्रहरी अधिकृत भन्छन्, ‘सिपाही १३/१४ वर्षमा हबल्दार हुन्छ । त्यसको केही वर्षमा उसको पेन्सन हुन्छ र ऊ बाहिरिन्छ । बीचैमा जागिर छाड्नेहरू पनि धेरै छन् ।’ नेपालगन्ज बजारमा वडा प्रहरी कार्यालयबाट प्रहरी खटिन्छन् । वडा कार्यालयमा ९९ को दरबन्दी रहेको छ । त्यसमा पनि अहिले आधाजति मात्रै छन् ।
वडा प्रहरी कार्यालयले मुख्यमुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ । धम्बोझी, बिपीचोक, पुष्पलालचोक, त्रिभुवनचोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । वडा प्रहरीका अनुसार न्यूनतम संख्यामा ड्युटीमा खटाउन पनि कम्तीमा ४० प्रहरी अपुग छन् । वडा प्रहरी कार्यालयका इन्चार्ज नारायण डाँगीले प्रहरीको संख्या अलिकति कमी भए पनि बिट नै खाली गर्ने अवस्था नरहेको बताए ।
नेपालगन्ज भीआइपीहरू आइरहने ठाउँ हो । एकैपटक चार–पाँचसम्म भीआइपी आउने भएकाले प्रहरीलाई अझ हैरानी हुने गरेको छ । त्यसै पनि दरबन्दी कमी छ, दरबन्दीअनुसारकै प्रहरी पनि छैनन् । नेपालगन्जमा कर्णाली र सुदूरपश्चिम प्रदेश जाने भीआईपी पनि आइरहन्छन् । उनीहरूलाई नाकासम्म स्कर्टिङ गर्नुपर्ने प्रहरीलाई बाध्यता छ ।
प्रहरी बिटमा मासु पसल
प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगन्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए ।
जिल्ला संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु व्यवसायी रिजवानले प्रहरी नभएको भरपुर फाइदा उठाउँदै प्रहरी बिटको दुरुपयोग गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले जानकारी दिए । प्रहरीले बिटमै मासु पसल सञ्चालन गर्ने कुरैसीलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा रहेको दाबी गरे ।
पोस्ट बन्यो, प्रहरी छैनन्
राप्तीसोनारी गाउँपालिका–५ का स्थानीयवासीले शान्ति सुरक्षाको माग गरेपछि अलिनगरमा अस्थायी प्रहरी पोस्ट तयार भयो । घर, शौचालय र भान्सा तयार भयो । स्थानीयको श्रमदान र पाँच लाख रुपैयाँको लागतमा प्रहरीलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको एक महिना बितिसक्दा पनि प्रहरी भने त्यहाँ पुग्न सकेको छैन ।
‘अस्थायी प्रहरी पोस्ट तयार हुँदासमेत प्रहरी आउने सुरसार छैन,’ स्थानीयवासी वडा नं ५ का वडाध्यक्ष झगरु थारूले भने, ‘जिल्लामा एसपीसा’बसँग सुरक्षाकर्मी पठाइदिन धेरै पटक आग्रह गरिसक्याँै, उहाँले छिट्टै पठाउँदैछौँ भन्नुहुन्छ तर अहिलेसम्म पठाउनुभएको छैन ।’
जनशक्ति कम भएका कारण तत्काल पठाउन नसकिएको बताउँदै त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएको बताउँदै बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले पठाउने प्रक्रियामै रहेको जानकारी दिए ।
राप्तीसोनारी–४ धामपुरमा रहेको प्रहरीलाई निकै लामो दूरी पर्ने, जंगल क्षेत्र र घटना बढ्दै गएकाले तत्काल प्रहरी पोस्टमा प्रहरी पठाउनुपर्ने माग स्थानीयवासीको छ । प्रहरी पोस्ट तयार भइसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीयवासी कैलाश थारूले भने, ‘हामीले निकै पहिलेदेखि पहल गरेका हौँ, पहिले संरचना अभाव देखाइयो । त्यो पनि तयार गरिसकेपछि तत्काल प्रहरी आएर बस्नुपर्छ ।’ (रासस)
प्रकाशित समय ११:३१ बजे

















