गृहपृष्ठ तुलसीपुरको ‘ब्लड बैंक’ मा फ्रिज अभाव
तुलसीपुरको ‘ब्लड बैंक’ मा फ्रिज अभाव
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत संकलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकअतानुसार रगत संकलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताए । ‘एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत संकलन गर्न मिल्छ । एकैपटक धेरै रक्तदाता आएमा रगत संकलन गर्न सक्ने अवस्था नै हुँदैन,’ उनले भने, ‘त्यसका लागि हामीले पटक–पटक फ्रिज माग गर्ने गरेका छौँ ।’
अहिलेको त्यो फ्रिजमा ४० देखि ४५ प्वाइन्टसम्म मात्रै रगत संकलन गर्न सकिने उनको भनाइ छ । रक्तदान शिविर सञ्चालनमा धेरैले रक्तदान गर्ने भएकाले फ्रिजमा आवश्यकताअनुसार संकलन गर्न सकिने अवस्था छैन । रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि पछिल्लो समय रक्तदान गर्नेको संख्यामा वृद्धि भएको भन्दै ठूलो खालको फ्रिज आवश्यक पर्ने उनको भनाइ छ ।
तुलसीपुर केन्द्रमा आठ/नौ सय प्वाइन्ट रगत स्टक राख्न सक्ने फ्रिजको आवश्यक छ । साथै संकलित रगत ३५ दिनभन्दा बढी राख्न नमिल्ने भन्दै त्यहीअनुसार स्टक राख्ने गरेको उनले बताए ।
अञ्चल अस्पताल परिसरमा समाजसेवी वामदेव उपाध्यायले आफ्नी दिवंगत श्रीमती कालिकादेवीको स्मृतिमा निर्माण गरिदिएको कालिकादेवी रक्त सञ्चार भवनमा गत वर्ष भदौदेखि केन्द्र सञ्चालन हुँदै आएको छ । नेपाल रेडक्रसले सञ्चालन गरिरहेको उक्त रक्त सञ्चार केन्द्रमा पटक–पटक ठूलो फ्रिज ल्याउने कुरा चले पनि अझै ल्याउन सकिएको छैन । फ्रिज ल्याउने कार्यमा पहल भइरहेको रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । (रासस)
प्रकाशित समय १०:३१ बजे

















