गृहपृष्ठ १६ किलोमिटर हुलाकी सडक कालोपत्रे

१६ किलोमिटर हुलाकी सडक कालोपत्रे

हुलाकी राजमार्गलाई जोड्ने सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टी सहायक सडकखण्डको करिब १६ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको स्वर्णपट्टिदेखि खडक नगरपालिकाको बिसनपुर चोकसम्म करिब १६ किलोमिटर सडकमा कालोपत्रे सकिएको छ ।

यही असार २१ गतेभित्र उद्घाटन गर्ने तयारी भएको उक्त सडकका कन्ट्रयाक्टर म्यानेजर विनोद गौतमले जानकारी दिए । ठेकेदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले चैत मसान्तभित्र काम सक्ने गरी तयारी गरिए पनि सडक निर्माणका क्रममा विभिन्न व्यक्तिबाट अदालतमा मुद्दा परेकाले काम सम्पन्न गर्न केही ढिलाइ भएको गौतमले बताए ।

पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमा क्षेत्र स्वर्णपट्टिसम्म करीब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्र बाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ । ‘विसं २०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको करीब ९५ प्रतिशत भागमा कालोपत्रे सकिएको छ,’ गौतमले भने, ‘सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसक्यो अहिले १ हजार ४ सय मिटर दाँयाबाँया पैदलमार्गसँगै नाला निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।’ त्यसका साथै सडकमा संकेत चिह्न राख्ने कामसमेत भइरहेकाले ती सबै काम सकेर असार २१ गते विधिवत् उद्घाटन गरी हस्तान्तरण गरिने बताइएको छ ।

सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराजमा तीनवटा मुद्दा दायर गरिएको थियो । ती तीनवटै मुद्दामा अदालतबाट फैसला आइसकेकाले कालोपत्रे गर्न बाँकी रहेको स्थानमा कालोपत्रे गर्ने कार्यसँगै नाला निर्माण तीव्र रुपमा भइरहेको उनले बताए । मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ५८ करोड ३ लाख ९७ हजारको लागतमा निर्माणाधीन सडकको काम यही असार २० गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । (रासस)

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु