गृहपृष्ठ उपभोक्ता ठगी गर्ने छ फर्मलाई कारबाही
उपभोक्ता ठगी गर्ने छ फर्मलाई कारबाही
वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानुनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगन्जका छवटा व्यापारिक फर्मलाई जरिवाना गरी कारबाही गरेको छ ।
कारबाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगन्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ । उक्त उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा उत्पादन मिति तथा एमआरपी नराखेको कारण ५० हजार रूपैयाँ जरिवाना गरिएको छ । यसैगरी वीरगन्जकै नारायणी इन्टरप्राइजेजले उपभोक्तालाई ठग्दै आएको सूचना प्राप्त भएपछि अनुगमन कार्यमा असहयोग गरेकाले १० हजार रूपैयाँ जरिवाना गरिएको सूचना अधिकारी दिलीपखङ खत्वेले राससलाई बताए ।
यसैगरी कारबाहीमा परी जरिवाना तिरेका अन्य फर्ममध्ये हिमाल केमिकल एन्ड परफ्युमरी उद्योगलाई पनि अगरबत्तीमा एमआरपी नराखी उत्पादन गरेकाले ५० हजार रूपैयाँ जरिवाना गरी कारबाही गरिएको छ । वीरगन्जकै माईस्थानमा रहेको गणेश किराना स्टोरलाई उपभोक्ताले बिल माग्दा नदिएकाले १० हजार रूपैयाँ जरिवाना गरिएको छ ।
यसैगरी बहुदरमाई नगरपालिकाको रामनगरी बजारमा रहेको निरञ्जन कोल्ड स्टोरलाई बिल नराखेकाले पाँच हजार रूपैयाँ जरिवाना गरी कारबाही गरिएको छ । वीरगन्जकै माईस्थानस्थित जय माँ अम्बे इन्टरप्राइजेजलाई बिल नराखेको, उपभोक्तालाई बिल नदिई ठगी गरेकाले २० हजार रूपैयाँ जरिवाना गरी कारबाही गरिएको छ ।
वाणिज्य कार्यालयले प्रदेश नं २ को आठ जिल्ला र प्रदेश नं ३ को चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०५४ र उपभोक्ता संरक्षण नियमावली २०५६ अनुसार कारबाही गरी जरिवाना गरेको निमित प्रमुख ओमनारायण शर्मा ढुंगानाले बताए । (रासस)
प्रकाशित समय ११:५६ बजे

















