गृहपृष्ठ सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

पर्यटकीय सिजन सकिएपछि अहिले खुम्बु क्षेत्र लगभग सुनसान भएके छ ।  नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १ सयको हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ । त्यसैले सबैभन्दा बढी हवाईमार्ग हुँदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ ।

पर्यटकीय सिजनको बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ । सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ । स्थानीयसमेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो । घरको हेरविचार गर्ने एकजना कामदार वा घरधनीबाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिइन् ।

‘अहिले क्रमैसँग खुम्बु सुनसान बन्दै छ,’ श्रेष्ठले भनिन्, ‘अहिले यहाँका विद्यार्थी र उनीहरुको हेरचाह गर्ने केही अभिभावकबाहेक अधिकांश भ्रमणमा निस्किएका छन् ।’ पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने कार्गो ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त छन् । तारा एयर लुक्लाका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार मंगलबार १५ उडान भए पनि दुई वटाबाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन् । यस्तै बुधबार १० उडान भएकामा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ ।

काठमाडौँ–लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एयरले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन् । पर्यटकीय सिजन सकिएपछि लुक्ला आउने र काठमाडौँ जाने यात्रुको सङ्ख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ ।

केही विमानले सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल र केही विमानले काठमाडौँबाट सिधै कार्गो ढुवानी गरिरहेका छन् । लुक्ला जाने विमानले खुम्बुका लागि दैनिक उपभोग्य वस्तुसहितको सामग्री लैजाने र फर्कँदा सगरमाथा आरोहीले प्रयोग गरेका सामान लिएर फर्किने गरेको तारा एयर लुक्लाका स्टेसन इन्चार्ज मगरको भनाइ छ ।

सिजनअनुसार कार्गो ढुवानी शुल्कसमेत फरक पर्ने भएकाले सोहीअनुसार खुम्बुका व्यवसायीले सामान ढुवानी गर्ने गरेका छन् । प्रतिपटक १ हजार १ सय केजीसम्म ढुवानी गर्न सक्ने विमान कम्पनी बताउँछन् । फाप्लुबाट लुक्लाका लागि प्रतिकिलो खाद्यान्न ५५ र निर्माण सामग्री ७५ रूपैयाँमा ढुवानी गर्दै आएको तारा एयर फाप्लुका स्टेसन इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए । काठमाडौँ-लुक्लाका लागि भने प्रतिकिलो १२० रूपैयाँसम्म पर्ने ढुवानीकर्ता बताउँछन् ।

यस गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पर्यटन रहेको छ । सगरमाथासमेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करिब ५० हजार देशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गर्छन् । (भोजराज कार्की/रासस)

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु