गृहपृष्ठ प्रेरणा शाहको दाइजो विवादमा मिसिल झिकाउने आदेश
प्रेरणा शाहको दाइजो विवादमा मिसिल झिकाउने आदेश
सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले छाउनीस्थित दाइजो दावी गरेको सम्पत्तिसम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले शक्रबार ‘मिसिल झिकाउने’ आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतमा त्यस दाइजोसम्बन्धी विवादमा यसअघि दुई पटक सुनुवाइ भएर टुंगिएको थियो । यस विषयमा पुनः तेस्रो पटक सुनुवाइ हुने भएको हो । प्रेरणाले छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक २०७१ साल माघ २५ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र तत्कालीन न्यायाधीश जबराको संयुक्त इजलासले प्रेरणाको दाइजो ठहर गर्दै फैसला गरेको थियो ।
नेपाल ट्रष्टको कार्यालयले उक्त फैसलाको चित्त नबुझेपछि पुनरावलोकन निवेदन हालेको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीश दीपककुमार कार्की र सपना मल्ल प्रधानको इजलासले पूर्व राजा वीरेन्द्र शाहको परिवारको सम्पत्ति भएको उल्लेख गर्दै त्यो सम्पति नेपाल ट्रष्टको भएको फैसला गरेको थियो ।
अदालतले विपक्षीलाई आवश्यक कागजात झिकाउन आदेश दिएपछि त्यस विषयमा पुनः सुनुवाइ हुने भएको छ ।(रासस)
प्रकाशित समय ०७:२३ बजे

















