गृहपृष्ठ चितवनमा ६ महिनामा मानवअधिकार उलंघनका ५३ घटना

चितवनमा ६ महिनामा मानवअधिकार उलंघनका ५३ घटना

अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महिनामा जिल्लामा ५३ वटा मानवअधिकार उलंघनका घटना भएको जनाएको छ ।

इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलंघनका घटना बढ्दै गएको जानकारी दिएको हो ।

अघिल्लो वर्ष छ महिनामा ४५ घटना भएका थिए । यस वर्षको छ महिनामा जिल्लामा सबैभन्दा धेरै जबर्जस्ती करणीका घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले ३४ वटा घटना जबर्जस्ती करणीका भएको बताए ।

जसमा बालिकादेखि ७३ वर्षीया महिलासम्म रहेका छन्। जबर्जस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन् । १७ जना बालिकालाई जबर्जस्ती करणी भएको छ भने चार जनामा यौन दुर्व्यवहार भएको छ ।

यस्तै सात जना महिलामाथि करणी भएको छ भने दुई जनामाथि करणीको प्रयास भएको इन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ। हाडनाता करणीका चार वटा घटना भएका छन् ।

जिल्लामा भएका अन्य मानवअधिकार उलंघनका घटनामा जातीय विभेद तीन वटा, घरेलु हिंसाका छ वटा, बालिका बेचबिखनमा एउटा, महिला बेचबिखनमा एउटा र बहुविवाहमा आठ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिइएको थियो ।

जिल्लामा पछिल्लो समय बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । यसलाई रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताए । (रासस)

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु