गृहपृष्ठ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा ६५ सय नमूना परीक्षण

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा ६५ सय नमूना परीक्षण

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ६ हजार ५ सय २० नमूना परीक्षण गरेको छ । विभिन्न निकायबाट आएका १ हजार ७ सय ७० मुद्दामा यी नमूना परीक्षण भएको प्रयोगशालाले जनाएको छ ।

गत ११ महिनामा ६ हजार ४ सय ६८ नमूना प्राप्त भएको र गत आवको ७ सय ३० बाँकी नमूनाबाट यो परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा विष विज्ञान (टक्सिकोलोजी)मा सबैभन्दा बढी परीक्षण भएको प्रयोगशालाका कायममुकायम कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताए ।

विष विज्ञानअन्तर्गत संकलन भएका ५ सय ५९ मुद्दाका १ हजार १ सय ४८ नमूना परीक्षण भएको उनले जानकारी दिए । रसाय शास्त्रमा ५ सय, जीव विज्ञान तथा वन्यजन्तुमा १ सय २१, डिएनए १ सय ७३ र विवादित प्रलेखमा ४ सय १७ मुद्दाको परीक्षण भएको थियो ।

प्रयोगशालाले यहाँ आएका मुद्दाका आधारमा नयाँ–नयाँ प्रविधि र उपकरण भित्र्याइरहेको कामु कार्यकारी अधिकृत शाक्यले बताए । ‘विश्वका अरु देशमा भएका प्रविधि र उपकरणलाई भित्र्याएर प्राप्त मुद्दाको वैज्ञानिकरूपमा परिणाम दिने गरिएको छ,’ उनले भने ।

यस प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट नै नमूना आउने गरेका छन् । यीबाहेक राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण केन्द्र, वन विभाग, जिल्ला वन कार्यालय, प्रहरी, श्रम विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका निकायबाट समेत नमूना आइरहेका छन् ।

न्यायिक सुधार समितिको सुझावका आधारमा विसं २०६२ मा प्रयोगशालाको स्थापना भएको थियो । (रासस)

प्रकाशित समय ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु