गृहपृष्ठ घोराहीमा अर्को व्यवस्थित तरकारी बजार

घोराहीमा अर्को व्यवस्थित तरकारी बजार

बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । बजार, जनसंख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसकेपछि अर्को तरकारी बजार बन्न थालेको हो । बजारको चोक र गल्लीमा हुने तरकारी र फलफूलको व्यापारलाई व्यवस्थित पार्न अर्को तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ ।

घोराहीको घरेलु तथा साना शिल्पकला उद्योगको करिब एक बिघा सरकारी जग्गामा उक्त कृषि हाटबजार निर्माण भएको हो । संघीय सरकारको तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत आएको ५० लाख र घोराही उपमहानगरपालिकाको करिब आठ लाख रूपैयाँमा कृषि हाटबजार बन्न लागेको हो । घोराही उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठका अनुसार उपमहानगरको आफ्नै जग्गा नभएको कारण अस्थायी रूपमा टिन, फलाम र केही कंक्रिटका टहरा बनाइएको छ ।

कृषि हाटबजार निर्माणको रेखदेख गरिरहेका इन्जिनियर श्रेष्ठ अहिले खुला आकाशमुनि बसेर तरकारीको व्यापार गरिरहेकालाई व्यवस्थित गर्ने प्रयास मात्र गरेको बताउँछन् । ‘अहिले करिब ५८ लाख रूपैयाँ बजेट थियो । त्यसले सबै संरचना निर्माण गर्न पुगेन,’ उनले भने, ‘आगामी वर्ष पनि बजेट आयो भने यसलाई थप व्यवस्थित गरिनेछ ।’ उनका अनुसार तरकारी हाटबजारमा अझै धेरै निर्माण हुन बाँकी रहेको छ । पछिल्लो चरणमा तारबार, घामपानीबाट रोक्ने घर, सार्वजनिक शौचालय, कार्यालयलगायतका निर्माणको काम मात्र हुन लागेको छ ।

कृषि हाटबजार निर्माण समितिका अध्यक्ष केशव ढकाल निर्माणपछि यसको सम्पूर्ण जिम्मा उपमहानगरपालिका अन्तर्गत वडा नं १५ र टोल विकास संस्थाले लिने बताउँछन् । हाटबजारमा पश्चिमतर्फ २० र दक्षिणतर्फ १७ गरी ३७ तरकारीका स्टल निर्माण भएका छन् । संरचना बनिरहेको हुँदा त्यहाँबाट तरकारीको व्यापार हुन केही समय लाग्ने उनले बताए ।

अहिले त्यहाँ खुला आकाशमा तरकारी बेचिरहेकाहरुले दैनिक ३० रूपैयाँ तिर्दै आएका छन् भने ढकियामा दुई-चार सयको तरकारी बेच्नेले पनि पैसा तिर्नुपरिरहेको छ । तरकारी बजारमा कर्मचारी राख्ने, सरसफाइ गर्नेलगायतका काम भने वडा नं १५ को अमृत टोल विकास संस्थाले गरिरहेको छ । (रासस)

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु